विकासमा हामी किन पछाडि ?

लामो संघर्ष र धेरै उतार-चढावपछि थुप्रै सहिदहरूको बलिदानको प्रतिफलको रूपमा नेपाली जनता संघीय गणतन्त्र नेपालको सार्वभौम नागरिक भएका छन् । यसको अर्थ नेपालमा जन्मिएको आधारमा जोकोहीले अब सत्ता र शक्तिको दाबी गर्न सक्नेछन् । आशा गरौँ, निकट भविष्यमा संविधान आउनेछ, जसमा यो तथ्यलाई अभिलेखीकरण गरिएको हुनेछ । नेपाल र नेपालीका लागि यस पछाडिको चरण भनेको निर्माणको चरण हो । आर्थिक विकासको चरण हो । तर प्रश्न उठ्छ, कस्तो विकास अपनाउने ? प्रस्न पेचिलो छ र व्यवहारमा उत्तिकै कठिन पनि ।

नेपाललाई जैविक विविधता र प्राकृतिक स्रोतको धनी देश मानिन्छ । यहाँ कृषियोग्य भूमि २९ प्रतिशत र वन क्षेत्र २४ प्रतिशत छ । यहाँका नदीनालाबाट कम्तीमा ५३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । विश्वका ८००० मिटरभन्दा अग्ला १४ हिमशिखरहरूमध्ये ८ वटा त नेपालमै छन् जसका कारण पर्वतारोहण र पदयात्राका लागि नेपाल विश्वमा प्रसिद्ध मानिँदै आएको छ । पृथ्वीको जम्मा ०.१ प्रतिशतमात्र क्षेत्रफल ओगटेको यो देशमा ३ प्रतिशत (६००० प्रजाति) फूल फुल्ने बिरुवा, ८ प्रतिशत (८४८ प्रजाति) चराहरू, ४ प्रतिशत (१८१ प्रजाति) स्तनधारी, ११ प्रतिशत (५०० प्रजाति) पुतली पाइन्छन् । उत्पत्तिस्थल नेपाल भएको वनस्पतिमात्र २४६ प्रजातिका छन् । ३१९ प्रजाति त सुनगाभामात्र पाइन्छन् । विज्ञहरूका अनुसार यहाँ उत्खननको सम्भावना रहेका प्रशस्त खनिज भण्डार छन् । तर वास्तविकता के हो भने जुन दिनसम्म हामी स्रोतको भरपुर उपयोग गर्न सक्दैनौं, तबसम्म यी स्रोतमा गर्व गर्नुको अर्थ रहँदैन । उत्पादनशील बनाउन नसकिएको अवस्थासम्म कुनै पनि सम्पत्ति मृत पुंँजी हो । यिनै प्राकृतिक स्रोत पहिचान र परिचालन नै नेपालका सन्दर्भमा विकासको मुख्य कडी हुनेछ । Continue reading

असार

भुँइ कुइरोहरु उठ्न नपाउँदै

भुवादार बादलको सप्को ओढेर

आँखामा पिरो धुँवा बोकी

आली-आलीमा

भारहीन पैतालाहरु टेक्दै-टेक्दै

फटक-फटक

लामा पाइला चाल्दैछिंन असार

हतार-हतार ।।

बाटोमा कसैले अल्मल्याउनु हुन्न उसलाई

एकसुरमा अघि बढिरहेकीछे ऊ

पिठ्युमा स्याखु ओढेर पनि

पानीले भिझेकी छे

शिरमा छत्री जोडेर पनि

पसिनाले निथ्रुक्क रुझेकी छे ।

एकनास लम्कीरहेकीछे ऊ

दृश्यहरु आँखाको डिल नाघेर

हिलोमा डुबुल्की मारिरहेछन्

यता

बिश्वासको गह्रा भ्वाङ्ग परेकोछ

त्यसलाइ टाल्नु छ

उता

आस्थाको डिल भत्केको छ

त्यसलाइ उकास्नु छ

पानी येथेष्ठ पर्ने हो-होइन

मिहेनत जस्तै

मंसिरमा परिश्रम फल्ने हो-होइन

चिन्ताग्रस्त छे ऊ ।।

तर पनि

लिएर उत्साह भरिएका आँट

खोला-खोल्सीहरु सँग मित लाउन

छहरा-पहरासँग गित गाउन

लम्कीरहेकी छे फाँट-फाँट

हतार-हतार

यसपालिको असार ।