श्रवण मुकारुङ्गकृत ‘सलह’ बारे 

(फोटो: thuprai.com)

हिजोबाट नायुमालाई बिदा गरेँ । छुट्ने मन थिएन तर उनलेनै बिदा मागे पछि छुटियो ।

म केहि हप्तादेखि नायुमा राइलाई पछ्याइरहेको थिएँ, एउटा गहिरो सद्भाव र सहानुभुतिका साथ् । एउटी पूर्वी पहाडको अति बिपन्न गरिब परिवारमा जन्म लिएकी एक सफा हृदयकी पात्रलाई जीवनबोधको बाटोमा हिँडाएका छन् लेखकले ।

“एउटै मान्छे दुइखाले हुँदा रहेछन । मुकुण्डो लाएको र नलाएको ।”
मुकुण्डो लाएको मान्छेसँग डर मान्ने नायुमा मुकुण्डो लगाएको मान्छेहरुसँग भाग्दा-भाग्दै जीवन यात्राबाट अलप हुन्छिन ।

जन्मथलो राइ गाउँबाट भारि मनका साथ् काठमाण्डू हिँडेकी उनले कबुल बमोजिम स्कूल पनि शुरु गरिन र पढाईमा राम्रै लगन पनि दिइन ।

शुभचिन्तकको नाताले कामना गर्न थालेको थिएँ कि त्यहि बसेर राम्रो पढेर उनको जीवन बनोस, र जीवनमा उनको राम्रो उन्नति होस् ।
तर सङ्गीनि मङ्गलिको आत्महत्यापछि एउटा लयमा बगिरहेको उनको जीवनमा नसोचेको मोड आयो ।

त्यसपछि उनको जीवनमा लगातार अनेकौँ त्रासदीपूर्ण मोडहरु आइरहे । तर उनले हिम्मत हारिनन ।

स्वाभिमानलाई उँच्चा राख्न सबै चुनौतिको सामना गर्न तयार भइन ।
उनको जीवन यात्रामा थुप्रै असल मान्छेहरु भेटिए । यसबाट के लाग्यो भने यो संसारमा असल मान्छेहरुको कमि छैन । त्यसैले संसार सुन्दर छ ।

अपरिचित, चिन्नु न जान्नुका, तर अति आत्मीय, दयालु मान्छेहरु । यी मान्छेहरुले देखाएको दया, मायाँ, करुणा र उदारतालाई स्पर्श गर्दा धेरैपटक आँखाबाट आँसु झरे, रोक्न सकिएन ।

सुकुम्बासी बस्तीमा भेटिएकी दिलमायाले देखाएको निस्वार्थ मातृत्व प्रेम, इन्द्रावतीको समर्पित र निस्वार्थ मित्रताले धुरुक्क पार्यो । मान्छेका दुखमा साथ दिने इन्द्रावती जस्तै साथी सबैलाई मिलोस ।

बौलाहा रिस नियन्त्रण गर्न नसक्दा नायुमाको जीवनका मोडहरु हठात् तयार हुन्छन । वा यो उनको छनौट हुन सक्छ । सम्झौता गरेको भए उनको जीवनयात्रा फरक बाटोमा अघि बढ्थ्यो होला । जीवनमा धेरै हण्डर बेहोर्नु पर्थेन होला । यहाँ दर्शन छ ।

कृष्ण राइसँग प्रेम झाङ्गिदै गएको बेला सुखद अनुभब के गर्दै थिएँ, अकस्मात नसोचेको भयो । उनको बाटो फेरि मोडियो ।

अन्तिम घडीमा भएको बासुदेब र फूलश्वरी राईसँगको भेट अर्थपूर्ण छ ।

पछिल्लो समय कुनै किताब पढेर म यति धेरै पग्लिएको यसैपटक होला । आँसु बगिरहे ।

सरस र सरल भाषामा भनिएका कथामा कतै कबिता पढिन्छ, कतै गित सुन्न पाइन्छ ।

पात्रहरु परिचित, स्वभाविक र सरल, हामी मध्येकै वा चिने जानेका । पात्रका नाम जिवन्त ।

नायुमाको जीवनलाई पछ्याउँदै जाँदा हाम्रो समाजका थुप्रै अन्तर कुन्तर पाटासँग जम्काभेट भैरह्यो ।

हाम्रा राजनीति, नेताका प्रबृत्ति, माओबादी आन्दोलन, त्यस भित्रका बिकृति, आन्दोलनका पक्ष र संस्कृति, सुकुम्बासी बस्ति भित्रका जीवन, मजदूरहरुका जीवनचर्या एबम बिभिन्न उमेर समूहका मान्छेहरुका मनोविज्ञान र मनस्थितिलाई समेत मिहिन ढङ्गले केलाउने प्रयास छ उपन्यासमा ।

शुरु-शुरुमा कथाको लयनै भत्किने गरी लक्षणहरुको प्रयोग अलि धेरै भयोकि जस्तो लाग्दै थियो । तर पछि गएर त्यो महसूस भएन ।

नेपाली साहित्यका लागि एक राम्रो कोसेलीको रुपमा आएको उपन्यास ‘सलह’ खासमा भुँइ मान्छेहरुको कथा हो ।

एउटा उत्कृष्ट कृतिको लागि साहित्यकार Shrawan Mukarung लाई विशेष बधाई ।

बिधि र प्रक्रियाको बाटो, छोटो वा छिटो हुँदैन

सुकुम्बासी बस्तीमा डोजर लगाउने आदेश भएकै दिन बेलुका (बैसाख ९) बिरोध स्वरुप केहि प्रश्नहरु उठाएको थिएँ । त्यो मेरो चेत बोलि मात्र थियो । यस्ता बोलीहरु एकसाथ धेरै सङ्ख्यामा बोलियो भने एक खालको बलियो आवाज बन्छ । वा त्यसले गलत काम रोक्न पर्याप्त दवाव सृजना गर्न सक्छ । चाहिएको बेला प्रतिपक्षी दलहरु गुमनाम जस्तै भए । यतिबेला बल्ल क्रमशः बिरोधि अवाजहरु थपिदै गैरहेको छ । बालेन वा रास्वपालाई ब्याक फायर हुन थालेपछि अहिले ब्याक गियर लागेको अबस्था छ ।

सामाजिक सञ्जालमा लेख्नुको अर्थ ‘मैले जानेको छु, मेरो सुझाव सत्ताशीनहरुले हेर्छन, पढ्छन र आफ्नो काममा लागु गर्छन’ भन्ने हैन । यस्तो शायदै हुन्छ । यस्तो काम त बिचार निर्माणको प्रक्रियामा सहभागी हुनका लागि मात्र हो । एकै खालका मत र बिचार धेरै ठाउँबाट आइरहँदा त्यसले एउटा अवधारणा सृजना गर्दछ, र पछि एक खालको दृष्टिकोण वा बिचारको रुप ग्रहण गर्न सक्छ । सत्य कुराहरु स्थापित गर्न मद्दत पुर्याउन सक्छ ।

हो अहिले म नेपालमा छैन । एक खालको जीवन चलिरहेको छ । नेपालको बारेमा नबोल्दा, चासो नदिँदा पनि जीवन चलिरहन्छ । तर मेरो चिन्तन नेपालसँग जोडिएरै बसिरहेको छ। प्रविधिले त्यो सुबिधा उपलब्ध गराएको छ भने मैले किन सदुपयोग नगर्ने ? तर नेपालसँग जोडिएर लेखिरहँदा कतिपयलाई असहज लागेको मनोविज्ञान पनि बुझिन्छ । कसै-कसैले छेड-खानि र घुमाउरो पाराले आक्रमण पनि गरिरहेका हुन्छन । त्यसलाई म अन्यथा ठान्दिन । मानिसहरुको बुझाइको स्तर र बिषयहरुलाई हेर्ने आ-आफ्ना दृस्टीकोण पनि हुन्छन । मेरो जीवनदृस्टी र आदर्शसँग सबै सहमत हुनपर्छ भन्ने म ठान्दिन । त्यसैले असहमतहरुसँग लड्न, भिड्न जाने चलन मेरो छैन ।

एउटा सचेत व्यक्तिको नाताले हाम्रो एउटा कर्तब्य हुन्छ । मानिसहरुमाथि अन्याय भैरहदा चुप रहन सकिँदैन । शासकहरुको मनोमानी, बैमानी र ज्यादतीका कारण संसारका थुप्रै ठाउँमा मानिसहरुले दुख पाइरहेका छन् । अन्यायपूर्ण घटना संसारको जुनसुकै कुनामा किन नघटोस ? निर्दोष जनता माथिको अत्याचार चाहे नेतान्याहूले गाजामा गरेको होस् वा ट्रंपले अमेरिकामा, बोल्नुपर्छ।

नेपालीको कुरा छोडौँ; भाद्र २३, २४ मा नेपाल जलिरहँदा नेपाललाई मायाँ गर्ने थुप्रै बिदेशीहरु टिकटक भिडिओ मार्फत बलिन्द्र आँसु बहाउँदै रुँदै प्रार्थना गरिरहेका भेटिन्थे । तपाइँसँग करुणा छ, समानुभूतिको गुण छ भने संसारका कुनैपनि ठाउँमा हुने आततायी र अन्यायपूर्ण घटनाले स्वभाविक रुपमा उद्वेलित गराउँछ। मानवीय संवेदनाको बिषयमा हरेक अर्को मान्छेले बोल्नु पर्छ भन्ने लाग्छ। मानवता वा मानवीय संवेदनाको कुनै सिमाना हुँदैन।

मानिसहरुलाई आफूले बुझेको सत्यनै सबैभन्दा ठूलो सत्य लाग्दो रहेछ। बालेन्द्र शाहलाई लागेको पनि तेही नै हो। अनि धेरैलाई के लाग्छ भने पुराना दलहरुले सबै बेथितिहरु नियतबस वा जानी-जानीनै भित्र्याएका हुन्। सहि नतिजा निस्कन नसक्नुमा एकमात्र कारण हुँदैन । बेथिति भित्रिनुमा समस्यालाइ राम्रोसँग बुझ्न नसक्नु, अथवा आबस्यक प्रयास नगरिनु, सहि तरिका नअपनाइनु, समाधानको उचित बाटो पत्ता लगाउन असफल हुनु, सहि निकास निकाल्ने आवस्यक सिप वा दक्षताको अभाव हुनु, आदि अनेकौँ कारणहरु हुन सक्छन । बितेका ३५ बर्षमा समस्या समाधानका लागि कसैबाट पनि सकारात्मक प्रयास हुँदै भएन भन्न मिल्दैन ।

पहिलेकाले समस्या समाधानमा के त्रुटी गरे? किन असफल भए? अहिलेको सरकारले त्यही बिन्दुबाट काम थाल्नुपर्थ्यो। यानेकि आबस्यक संयन्त्र निर्माण गरेर अनुसन्धान/अध्ययनको बाटोबाट काम थाल्नु पर्थ्यो । त्यसपछि बिज्ञ र सरोकारवालाहरुसँग छलफल, बहस मार्फत समाधानका खाका तयार गर्नपर्थ्यो । त्यसको लागि कति चाहिन्छ, समय लिन पर्थ्यो ।

कतिपय बिषयहरु हामी जे बुझीरहेका हुन्छौँ, वा औसत बुझाई जे हुन्छ, वास्तविकता त्यस्तो नहुन सक्छ । सत्य-तथ्य त गहिरो अध्ययनपछि मात्र थाहा लाग्न सक्छ । अहिलेको सतही बुझाइअनुसार बस्तीमा आश्रित सब अतिक्रमणकारी, स्वार्थि, दलहरुद्वारा पालित-पोषित हुकुम्बासी ठहर्याइयो । वास्तविकता त्यस्तो थिएन । त्यहाँ बहुसंख्यक दलित भूमिहीन, सिमान्तकृत कम्जोर वर्गका नागरिक थिए, जसलाई राज्यको वास्तविक संरक्षण चाहिएको थियो ।

पुरानाले बिधि वा ढङ्ग पुर्याएर काम गर्न सकेन भनेरै नै जनताले राम्रो बिकल्पको रुपमा अहिलेका जान्ने व्यक्तिलाई जिम्मेवारीमा पठाएका हैनन् र ? अनि फेरि काम गर्ने तरिका उही हचुवा र पुरानै पाराको भए पछि कसरी राम्रो नतिजा निस्किएला र ?

बिधि र प्रक्रियाको बाटो, छोटो वा छिटो (shortcut) हुँदैन । त्यसलाई नाघ्नु भनेको जोखिमको बाटोमा जानु हो । यस्तो कामले घाटा हुने आफैलाई हो । यस्तोमा समयक्रममा कानूनको फन्दामा परिने जोखिम उत्तिकै रहन्छ ।

असफल नेतृत्वको रजगजले निराश नयाँ पुस्ता

‘एकसाथ यति धेरै मानिस निराश भएको विगतमा कहिल्यै अनुभव गरिएको थिएन।’ आम मानिस मात्र होइनन्, केही वर्षयता यस्ता अभिव्यक्ति शासन चलाइरहेकै दलका कतिपय नेताबाट पनि आइरहेका छन्। निराशाको ग्राफ घट्नु साटो वर्षेनि बढ्दो छ। सबैभन्दा बढी निराश जनसंख्याको ठूलो हिस्सा ओगटेको र सन् १९९० पछि जन्मे-हुर्केंको नयाँ पुस्ता देखिन्छ। कतिपय अध्ययनका तथ्याङ्कले स्वदेशमा सुखद् भविष्य नदेखेर यो पुस्ता निराश भएको देखाउँछ। कतिपयले यसलाई अतिरञ्जना त कतिले उमेरजन्य आवेग भनेको टिप्पणी पनि सुनिएकै हो। कारण र तर्क जेसुकै दिइए पनि यो पक्का हो नयाँ पुस्तामा निराशा बढ्दो छ। नयाँ पुस्ता मात्र होइन, राजनीतिलाई सेवाको माध्यम बनाउने सोच सहित विभिन्न पार्टीमा क्रियाशील रहेकाहरू समेत ब्याकफुटमा देखिन्छन्। त्यसैले यो गम्भीर समस्या बनेको छ।

Continue reading

नेतृत्वमा पुस्तान्तरणको सवाल

नेपाली राजनीतिका दुई मूर्धन्य हस्तीहरू बीपी कोइराला र पुष्पलाललाई अधिकांश नेपालीले आदरका साथ स्मरण गर्दछन । उल्लेखनीय के छ भने, समय बित्दै जाँदा यी दुई नेताप्रतिको सम्मानको दायरा क्रमशः बढ्दै गएको छ । दुवै नेतालाई विपक्षी विचारका अनुयायीहरूबाट समेत आदर दिने क्रम बढ्दो छ ।

उनीहरूप्रति आजपर्यन्त श्रद्धा जागिरहनुको कारण के होला ? कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीले चलाएको सत्ताको अवधि छोटो र प्रभावकारी थियो । जनताले उनीहरूको नेतृत्वको निरन्तरता चाहेकै अवस्थामा सत्ताबाट ओर्लिनुपर्‍यो । मदन भण्डारी, पुष्पलालले राजकाज चलाएको हेर्ने मौका जनतालाई मिलेन । गणेशमान त्यस्ता व्यक्ति थिए, जसले सरकारको नेतृत्व गर्ने अवसरलाई समेत त्यागेका थिए । जीवन र जगत्प्रतिको दृष्टिकोण वा आफ्नो जीवनदर्शनप्रति प्रस्ट, आफूले अंगीकार गरेको विचार र सिद्धान्तप्रति निष्ठावान् यी नेताहरूको राजनीतिक जीवनको उल्लेख्य अवधि संघर्षमै बित्यो । समग्रमा उल्लिखित राजनीतिक व्यक्तिहरू शक्ति र पदमा आसक्त भएनन् । र, बाँचुन्जेल राजनीतिलाई देश र जनताको सेवाको माध्यमका रूपमा अंगीकार गरे ।

Continue reading

सामाजिक सञ्‍जाल र शङ्‍का

samajik-sanjal-raसभ्यताको विकासक्रमसँगै मानव समाजले आफ्ना पुराना र गलत मान्यतालाई भत्काउँदै नयाँ मान्यता स्थापित गर्दै अघि बढ्न सिकेको छ । समाज अहिले जहाँ, जसरी, जुन अवस्थामा छ, सभ्यताको उच्चतम उपलब्धिका साथ छ । वास्तवमा मानिसलाई प्राप्त यस्ता उपलब्धिहरूका मुख्य आधार उनीहरूको शंका र आलोचना गर्ने द्वन्द्वात्मक गुण हुन् ।

समाज विकासको लागि आलोचनात्मक दृष्टिकोण आवश्यक र अपरिहार्य हुन्छ । मानिसको सामाजिकता (भेला हुने, गफ गर्ने, कुरा काट्ने संस्कृति) यस्ता दृष्टिकोण अभिव्यक्त हुने मुख्य अवसर हो । गफिनु, कुरा काट्नुलाई अंग्रेजीमा ‘गस्सिपिङ’ भनिन्छ र सामाजिकतासँग अलग गरेर हेर्न नमिल्ने कुरा काट्ने प्रवृत्तिलाई समाजले नकारात्मक रूपमा बुझ्दै र स्वीकार्दै आएको छ । तर धेरै अनुसन्धानपश्चात वैज्ञानिकहरूले तथ्य र कारणसहित मान्छेको यस्तो चरित्रलाई सकारात्मक रूपमा अङ्गीकार गर्नुपर्ने सुझाएका छन् । Continue reading

खुम्चिँदो बहस संस्कृति

bahas-kantipur-211हाम्रो सामाजिक तथा राजनितिक जीवनका पछिल्ला घटनाक्रमहरु हेर्दा बिधिको शासन, संघीयता र लोकतन्त्रको सुदृढ़ीकरणको लागि चालिनु पर्ने पाइलाहरु अपेक्षित दिशा र गतिमा अघि नबढिरहेको प्रतीत हुन्छ। एकातिर, संस्थागत सबलीकरणका लागि स्वायत्तता माग गरिरहेका बढ़ी भन्दा बढ़ी संस्थाहरुलाई सरकार प्रमुखले आफ्नो मातहतमा ल्याउन चाहेको देखियो भने, अर्कोतिर जनस्तरबाट समेत हरेक घटना र बिषयमा सरकार प्रमुखकै हस्तक्षेप चाहेको देखियो।

प्रमकै तहबाट निर्णय खोज्ने, बिभिन्न तप्का र तहबाट निर्णय गर्ने क्रममा प्रमकै संकेत र निर्देशनको प्रतीक्षा गर्ने, जाहेरी उनैकोमा पठाउने, घटनाका बारे प्रमकै प्रतिक्रया सुन्न चाहने जस्ता प्रवृत्तिले यस्तै संकेत गर्दछ। शासन प्रणालीको यस्तो दृश्यले बिधिसम्मत राजनितिक प्रणाली स्थापनाको बाटोमा हाम्रो मन्द गतिलाई चित्रित गर्दछ। हाम्रो मनोबिज्ञानले आदेशात्मक वा निर्देशात्मक प्रणालीलाइ छाड्न आनकानी गरिरहेझैँ भान हुन्छ। लोकतन्त्र र संघीयताको मजबुतीकरण र बिकासको लागि यस्तो दृश्य सकारात्मक हैन। Continue reading