हृदयविदारक दृश्यहरु

यसपटक केहि हृदयविदारक दृश्यहरु देखिए ।

एउटा बच्चालाई साथीहरु छुट्ने पिर र पढिरहेको स्कूल छुट्ने चिन्ता थियो ।

एकजना वयस्क आँखाभरि आँसु पार्दै, बरु गोलि खाने तर आफूले पालेका गाईहरु छोडेर कतै नजाने अड्डी कस्दै थिए ।

केहि बच्चाहरु आफ्ना भत्काउँदै गरेका घरहरु हेरेर डाँको छोडेर रुँदै, काँप्दै थिए ।

आफ्नो भत्केको घर देखेर एक निरिह वृद्ध आमाको आँखाबाट बलिन्द्र आँसु झरिरहेको थियो ।

अनुमान गरौँ, त्यहाँ अन्य बिरामीहरु, अशक्तहरु, बृद्द-बृद्दाहरु, सुत्केरीहरुको अबस्था कस्तो थियो होला ?

त्यसैले, सिद्दान्तअनुसार मानवबस्तीमा जबर्जस्ति गर्न मिल्दैन । त्यहाँ मान्छेका भावनासँग जोडिएका थुप्रै कुराहरु हुन्छन । ढुङ्गा, माटोसँग पनि भावना गाँसिएको हुन्छ। मायाँ हुन्छ।

अबोध बालबालिकाको मस्तिष्कमा आघात पुग्छ। वास्तवमा के भैरहेको हो उनीहरूलाई थाहा हुँदैन।

त्यसैले होला, पुनर्स्थापना कार्यक्रम अन्तर्गत अमेरिकामा आधुनिक सुख-सयलको जिन्दगि बिताइरहेका भुटानी शरणार्थीहरु झापा बेलडाँगीमा आफ्ना पुराना झुप्रामा आएर रुवाबासी गरेको देखेको छु ।

समय लिएर, उनीहरुको सुरक्षित ब्यबस्थापनको ग्यारेन्टी गरेर मात्र खालि टहराहरु हटाउनु पर्ने हुन्छ । त्यसैले हतारमा डोजर लगाउने काम कुनैपनि ढङ्गले संगतिपूर्ण हैन ।

राज्यले कमजोर वर्गमाथि अवाञ्छित ढङ्गले शक्ति प्रयोग गरेको छ, यो लोकतन्त्रको मूल मर्म अन्तर्गत पर्दैन । उ त निमुखाको संरक्षक हो ।

तर अनौठो के पनि देखियो भने; यी रोदन, आँसु र क्रुर दृश्यका बीच ठुलै भिड उत्सब मनाइरहे जस्तो देखिन्थ्यो । वाह-वाहि थियो ।

औँलामा घाउ लाग्यो भनेर उपचारका अनेक उपायहरु नसोची हतारमा औँलानै काटेर फालीदिने मुर्ख्यांइपूर्ण कामको निकै बढाँइ भैरह्यो । भीडमा समाजका मै हुँ भन्नेको संख्या पनि कम थिएन ।

बिधि-प्रक्रिया, अदालतको निर्देश, आफ्नै पार्टीको बाचा, आफ्ना १०० बुँदे कार्ययोजना, मन्त्रीपरिषदको निर्णय, पार्टीद्वारा अनुमोदन; केहि-केहि पनि पालना नगरिएको यस्तो ध्वंसात्मक कामले के सङ्केत गर्न खोजेको हो ?

समस्या हो, सम्पन्न गर्नुपर्ने काम हो, तर हतारो गर्नुपर्ने हैन । गरिवहरुले राज्य (कसको हो राज्य) को छहारीमा थप ‘छ’ महिना वा ‘एक’ बर्ष आश्रय पाउँदा के बिग्रन्थ्यो ? सरकारले प्राथमिकतामा राखेर गर्नुपर्ने कामका चाङ्ग छन् ।

यो सरकार सफल हुनुपर्छ भन्ने धेरैको सकारात्मक कामना छ । त्यसैले सरकारले कार्यकाल रचनात्मक कामहरुबाट थालनी गरोस भन्ने अपेक्षा हो, तर दृश्य त्यस्तो देखिएको छैन ।

(फेसबुक; बैसाख १४ , २०८३)

प्रधानमन्त्रीको हचुवा कदम

“सुरक्षा प्रमुख डाकेर प्रधानमन्त्रीले भने- ‘शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू”

यो समाचारले निकै दुखित बनायो । यो समाचार सत्य हो भने प्रधानमन्त्री बालेन शाहसँग केहि प्रश्नहरु सोधौँ !

१. यस्तो निर्देशन दिनु पूर्व पर्याप्त अध्ययन गरेर वास्तविक र नक्कली सुकुम्वासीको पहिचान भैसकेको हो?
२. पाँच बर्षे पूर्ण पदावधिको साथ् गठित सरकारको यति हतारोमा वा बिशेष प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने बिषय हो यो?
३. हटाइन लागेका सुकुम्बासीहरुको न्यायपूर्ण पुनर्स्थापनाको योजनाहरु तयार भैसकेको हो?
४. सरकारले उत्पीडितहरु, सिमान्तकृतहरुको समस्याका बिषयमा काम गर्दा आतंकित गराउने ढङ्गले गर्ने की अभिभावक वा संरक्षकको रुपमा गर्ने?

प्रधानमन्त्रीलाई सम्बेदनशील काममा यो हतारो गर्नु पूर्व नेपाली समाजमा व्याप्त संरचानात्मक विभेद र संघर्षको इतिहास पढ्न अनुरोध छ ।

सुकुम्बासी मध्ये कति वास्तविक नहोलान, मौकाको फायदा उठाएका, बिचौलिया होलान । तर मेरो बिचारमा यो बिषय हचुवाको भरमा वा हतारोमा सम्पन्नु गर्नुपर्ने बिषय हैन । यस्तो कामले सरकार थप विवादमा फस्नेछ । आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने काम नगरौँ ।

नयाँ जनादेश प्राप्त शक्तिशाली सरकारले रचनात्मक ध्वंस (Creative destruction) को नियम अनुसार काम गर्नेछ भन्ने बिश्वास हो ।

(फेसबुक; बैसाख ९, २०८३)

4,600 hits

ढिलो र चाँडोको नियम

ढिलो र चाँडोको नियम हुन्छ । हामी प्राय छिटो वा चाँडोलाई राम्रो मान्छौँ । तर कैयौँ अवस्थामा प्राय ढिलोले जितिरहेको हुन्छ ।

कुनै पनि काम छिटो-छिटो गर्दा धेरै त्रुटीहरु भैरहेका हुन्छन । जस्तो गन्तब्य पुग्न हतार गर्दा बाटोमा हेर्नुपर्ने, याद गर्नुपर्ने थुप्रै कुराहरु छुटिरहेका हुन्छन । आबस्यक कैयौँ महत्वपूर्ण कुराको हेका राख्न सक्तैनौँ । फर्कनु पर्दा आफू हिँडेको उही बाटो नौलो लाग्छ, ठम्याउन गाह्रो पर्न सक्छ ।

मोटर गाडीमा यात्रा गर्दा पनि गतिलाई तिब्र बनाउँदा जोखिम बढ्ने हुन्छ । वरिपरिका सुन्दर दृश्यहरुको आनन्द पनि लिन सकिंदैन र छुट्छन । पहाड चढ्दा पनि छिटो-छिटो चढ्नु जोखिमपूर्ण मानिन्छ । बिस्तार अनुकुलता बढाउँदै चढ्ने सुझाव दिइन्छ । नत्र लेक लाग्ने डर हुन्छ ।

हामीले खाद्य सामाग्रीको ताजापन लम्ब्याउन फ्रिजको प्रयोग गर्छौँ । बिज्ञानका अनुसार खाने कुराहरुको श्वास-प्रश्वासको दर घटाउँदा वा ढिला गर्दा यस्तो फायदा हुन्छ, वा खाद्यसामाग्रीको आयु लम्बिन्छ ।

प्राय गति ढिलो हुने जीवहरु लामो समय बाँच्ने तथ्य भेटिएको छ । कछुवाको आयु २०० बर्षभन्दा बढी हुन्छ भने, पानीमा पाइने स्पन्जको आयु २००० बर्ष भन्दा बढी हुन्छ । यी सुस्त प्राणीहरु हुन् ।

त्यसैले हतार गर्नुभन्दा, वरिपरि हेर्दै, सोची बिचारी सावधानीपूर्वक अघि बढ्दा नै बढि लाभ प्राप्त हुने कुरामा बिश्वास गर्न सकिन्छ ।

हाम्रो समाजले प्रायः तीक्ष्ण, प्रभावकारी र चलाख मानिसहरूलाई बढी प्रश्रय दिन्छ ।

तीक्ष्ण र प्रभावकारीले नतिजामा तिब्रता ल्याउला ।

चलाखले काम छिटो-छिटो सम्पन्न गर्ला ।

तर सुस्त तर धीर-गम्भीर जीवन बिताउनु धेरै तरिकाले बुद्धिमानी हो ।

मेरो रोजाइ आत्मविश्वासका साथ गरिने, ढिलो तर स्थिर गतिमा हुने काम हो ।