भोज़िन्हा

काबो भर्डेका गोलरक्षक ४० वर्षीय ‘भोजिन्हा’ ले हिजोको खेललाई रोमाञ्चक बनाए।

उनी रातारात चर्चित भएका छन् । इन्स्टाग्राममा उनलाई पछ्याउनेको सङ्ख्या एकरातमै ५० हजारबाट बढेर ५९ लाख पुगिसकेको छ।

खेल समाप्तिको सिठ्ठी बजिसकेपछि,

हामी प्रष्ट देख्न सक्थ्यौं उनी आँसु पुछेको पुछै गरिरहेका थिए । उनि निकै भावुक भएका थिए ।

उनको आफ्नै भनाइअनुसार त्यो क्षण उनको जीवनकै सबैभन्दा भावुक क्षण थियो ।

त्यो भावुकताको कारण थियो, प्रियजनहरुको सम्झना ।

किनकी पैसा र समय अभावको कारण उनकी आमा त्यहाँ उपस्थित हुन सकिनन् ।

उनलाई हुर्काउने उनका हजुरबुबा हजुरआमाको केही वर्ष अघि मृत्यु भएको थियो ।

त्यसैले उनीहरुले त्यो उत्कृष्ट प्रदर्शन हेर्न पाएनन्:

उनलाई गर्व थियो कि उनका लागि सबैभन्दा प्रिय र सम्मानित खेलाडी ‘लामिन यामाल’ सँगै खेल्ने अवसर मिलेको थियो ।

उनि सम्झन्छन,

यो त्यस्तो रात हो जुन रात आफ्ना छोराछोरी र नातिनातिनाहरूलाई सुनाउनयोग्य सुन्दर कथा निर्माण भएको छ ।

उनका लागि आफ्ना बाँकी जीवनभर साथमा रहने सम्झनाको पाना बनेको छ ।

उनीसँग २० बर्षे कठिन सङ्घर्ष र असफलताको कथा छ । त्यसैले आजको सफलता उनको निरन्तर सङ्घर्षको परिणाम हो ।

उनलाई थप सफलता मिलिरहोस्!

श्रवण मुकारुङ्गकृत ‘सलह’ बारे 

(फोटो: thuprai.com)

हिजोबाट नायुमालाई बिदा गरेँ । छुट्ने मन थिएन तर उनलेनै बिदा मागे पछि छुटियो ।

म केहि हप्तादेखि नायुमा राइलाई पछ्याइरहेको थिएँ, एउटा गहिरो सद्भाव र सहानुभुतिका साथ् । एउटी पूर्वी पहाडको अति बिपन्न गरिब परिवारमा जन्म लिएकी एक सफा हृदयकी पात्रलाई जीवनबोधको बाटोमा हिँडाएका छन् लेखकले ।

“एउटै मान्छे दुइखाले हुँदा रहेछन । मुकुण्डो लाएको र नलाएको ।”
मुकुण्डो लाएको मान्छेसँग डर मान्ने नायुमा मुकुण्डो लगाएको मान्छेहरुसँग भाग्दा-भाग्दै जीवन यात्राबाट अलप हुन्छिन ।

जन्मथलो राइ गाउँबाट भारि मनका साथ् काठमाण्डू हिँडेकी उनले कबुल बमोजिम स्कूल पनि शुरु गरिन र पढाईमा राम्रै लगन पनि दिइन ।

शुभचिन्तकको नाताले कामना गर्न थालेको थिएँ कि त्यहि बसेर राम्रो पढेर उनको जीवन बनोस, र जीवनमा उनको राम्रो उन्नति होस् ।
तर सङ्गीनि मङ्गलिको आत्महत्यापछि एउटा लयमा बगिरहेको उनको जीवनमा नसोचेको मोड आयो ।

त्यसपछि उनको जीवनमा लगातार अनेकौँ त्रासदीपूर्ण मोडहरु आइरहे । तर उनले हिम्मत हारिनन ।

स्वाभिमानलाई उँच्चा राख्न सबै चुनौतिको सामना गर्न तयार भइन ।
उनको जीवन यात्रामा थुप्रै असल मान्छेहरु भेटिए । यसबाट के लाग्यो भने यो संसारमा असल मान्छेहरुको कमि छैन । त्यसैले संसार सुन्दर छ ।

अपरिचित, चिन्नु न जान्नुका, तर अति आत्मीय, दयालु मान्छेहरु । यी मान्छेहरुले देखाएको दया, मायाँ, करुणा र उदारतालाई स्पर्श गर्दा धेरैपटक आँखाबाट आँसु झरे, रोक्न सकिएन ।

सुकुम्बासी बस्तीमा भेटिएकी दिलमायाले देखाएको निस्वार्थ मातृत्व प्रेम, इन्द्रावतीको समर्पित र निस्वार्थ मित्रताले धुरुक्क पार्यो । मान्छेका दुखमा साथ दिने इन्द्रावती जस्तै साथी सबैलाई मिलोस ।

बौलाहा रिस नियन्त्रण गर्न नसक्दा नायुमाको जीवनका मोडहरु हठात् तयार हुन्छन । वा यो उनको छनौट हुन सक्छ । सम्झौता गरेको भए उनको जीवनयात्रा फरक बाटोमा अघि बढ्थ्यो होला । जीवनमा धेरै हण्डर बेहोर्नु पर्थेन होला । यहाँ दर्शन छ ।

कृष्ण राइसँग प्रेम झाङ्गिदै गएको बेला सुखद अनुभब के गर्दै थिएँ, अकस्मात नसोचेको भयो । उनको बाटो फेरि मोडियो ।

अन्तिम घडीमा भएको बासुदेब र फूलश्वरी राईसँगको भेट अर्थपूर्ण छ ।

पछिल्लो समय कुनै किताब पढेर म यति धेरै पग्लिएको यसैपटक होला । आँसु बगिरहे ।

सरस र सरल भाषामा भनिएका कथामा कतै कबिता पढिन्छ, कतै गित सुन्न पाइन्छ ।

पात्रहरु परिचित, स्वभाविक र सरल, हामी मध्येकै वा चिने जानेका । पात्रका नाम जिवन्त ।

नायुमाको जीवनलाई पछ्याउँदै जाँदा हाम्रो समाजका थुप्रै अन्तर कुन्तर पाटासँग जम्काभेट भैरह्यो ।

हाम्रा राजनीति, नेताका प्रबृत्ति, माओबादी आन्दोलन, त्यस भित्रका बिकृति, आन्दोलनका पक्ष र संस्कृति, सुकुम्बासी बस्ति भित्रका जीवन, मजदूरहरुका जीवनचर्या एबम बिभिन्न उमेर समूहका मान्छेहरुका मनोविज्ञान र मनस्थितिलाई समेत मिहिन ढङ्गले केलाउने प्रयास छ उपन्यासमा ।

शुरु-शुरुमा कथाको लयनै भत्किने गरी लक्षणहरुको प्रयोग अलि धेरै भयोकि जस्तो लाग्दै थियो । तर पछि गएर त्यो महसूस भएन ।

नेपाली साहित्यका लागि एक राम्रो कोसेलीको रुपमा आएको उपन्यास ‘सलह’ खासमा भुँइ मान्छेहरुको कथा हो ।

एउटा उत्कृष्ट कृतिको लागि साहित्यकार Shrawan Mukarung लाई विशेष बधाई ।