हिजोबाट नायुमालाई बिदा गरेँ । छुट्ने मन थिएन तर उनलेनै बिदा मागे पछि छुटियो ।
म केहि हप्तादेखि नायुमा राइलाई पछ्याइरहेको थिएँ, एउटा गहिरो सद्भाव र सहानुभुतिका साथ् । एउटी पूर्वी पहाडको अति बिपन्न गरिब परिवारमा जन्म लिएकी एक सफा हृदयकी पात्रलाई जीवनबोधको बाटोमा हिँडाएका छन् लेखकले ।
“एउटै मान्छे दुइखाले हुँदा रहेछन । मुकुण्डो लाएको र नलाएको ।” मुकुण्डो लाएको मान्छेसँग डर मान्ने नायुमा मुकुण्डो लगाएको मान्छेहरुसँग भाग्दा-भाग्दै जीवन यात्राबाट अलप हुन्छिन ।
जन्मथलो राइ गाउँबाट भारि मनका साथ् काठमाण्डू हिँडेकी उनले कबुल बमोजिम स्कूल पनि शुरु गरिन र पढाईमा राम्रै लगन पनि दिइन ।
शुभचिन्तकको नाताले कामना गर्न थालेको थिएँ कि त्यहि बसेर राम्रो पढेर उनको जीवन बनोस, र जीवनमा उनको राम्रो उन्नति होस् । तर सङ्गीनि मङ्गलिको आत्महत्यापछि एउटा लयमा बगिरहेको उनको जीवनमा नसोचेको मोड आयो ।
त्यसपछि उनको जीवनमा लगातार अनेकौँ त्रासदीपूर्ण मोडहरु आइरहे । तर उनले हिम्मत हारिनन ।
स्वाभिमानलाई उँच्चा राख्न सबै चुनौतिको सामना गर्न तयार भइन । उनको जीवन यात्रामा थुप्रै असल मान्छेहरु भेटिए । यसबाट के लाग्यो भने यो संसारमा असल मान्छेहरुको कमि छैन । त्यसैले संसार सुन्दर छ ।
अपरिचित, चिन्नु न जान्नुका, तर अति आत्मीय, दयालु मान्छेहरु । यी मान्छेहरुले देखाएको दया, मायाँ, करुणा र उदारतालाई स्पर्श गर्दा धेरैपटक आँखाबाट आँसु झरे, रोक्न सकिएन ।
सुकुम्बासी बस्तीमा भेटिएकी दिलमायाले देखाएको निस्वार्थ मातृत्व प्रेम, इन्द्रावतीको समर्पित र निस्वार्थ मित्रताले धुरुक्क पार्यो । मान्छेका दुखमा साथ दिने इन्द्रावती जस्तै साथी सबैलाई मिलोस ।
बौलाहा रिस नियन्त्रण गर्न नसक्दा नायुमाको जीवनका मोडहरु हठात् तयार हुन्छन । वा यो उनको छनौट हुन सक्छ । सम्झौता गरेको भए उनको जीवनयात्रा फरक बाटोमा अघि बढ्थ्यो होला । जीवनमा धेरै हण्डर बेहोर्नु पर्थेन होला । यहाँ दर्शन छ ।
कृष्ण राइसँग प्रेम झाङ्गिदै गएको बेला सुखद अनुभब के गर्दै थिएँ, अकस्मात नसोचेको भयो । उनको बाटो फेरि मोडियो ।
अन्तिम घडीमा भएको बासुदेब र फूलश्वरी राईसँगको भेट अर्थपूर्ण छ ।
पछिल्लो समय कुनै किताब पढेर म यति धेरै पग्लिएको यसैपटक होला । आँसु बगिरहे ।
सरस र सरल भाषामा भनिएका कथामा कतै कबिता पढिन्छ, कतै गित सुन्न पाइन्छ ।
पात्रहरु परिचित, स्वभाविक र सरल, हामी मध्येकै वा चिने जानेका । पात्रका नाम जिवन्त ।
नायुमाको जीवनलाई पछ्याउँदै जाँदा हाम्रो समाजका थुप्रै अन्तर कुन्तर पाटासँग जम्काभेट भैरह्यो ।
हाम्रा राजनीति, नेताका प्रबृत्ति, माओबादी आन्दोलन, त्यस भित्रका बिकृति, आन्दोलनका पक्ष र संस्कृति, सुकुम्बासी बस्ति भित्रका जीवन, मजदूरहरुका जीवनचर्या एबम बिभिन्न उमेर समूहका मान्छेहरुका मनोविज्ञान र मनस्थितिलाई समेत मिहिन ढङ्गले केलाउने प्रयास छ उपन्यासमा ।
शुरु-शुरुमा कथाको लयनै भत्किने गरी लक्षणहरुको प्रयोग अलि धेरै भयोकि जस्तो लाग्दै थियो । तर पछि गएर त्यो महसूस भएन ।
नेपाली साहित्यका लागि एक राम्रो कोसेलीको रुपमा आएको उपन्यास ‘सलह’ खासमा भुँइ मान्छेहरुको कथा हो ।
एउटा उत्कृष्ट कृतिको लागि साहित्यकार Shrawan Mukarung लाई विशेष बधाई ।
यो हप्ता Departure शब्दले नेपाली मेडिया खर्लप्पै खायो। प्रसङ्ग कान्तिपूरमा बिष्णु सापकोटाद्वारा लिखित लेखको हो। लेखकले प्रयोग गरेको अर्थ चाहिँ परम्परा छोडेर नयाँतिर भन्ने होला। यसलाई क्रमभङ्गकै अर्थमा बुझ्न सकिन्छ ।
माओबादी खुल्ला राजनीतिमा आउँदा पुष्पकमल दाहालले ‘क्रमभङ्ग शब्दको प्रयोग गरेर चर्चामा ल्याएका थिए। समग्रमा अर्थ चाहिँ लय भत्काउने, अथवा परम्परा तोड्ने भन्ने बुझिन्छ। राजनीतिमा यस्तो प्रयोग भैरहन्छ। एउटा लयमा चलिरहेको जीवनमा कहिलेकाहीँ हठात बाटो परिवर्तन गर्दा असहज अवस्था आउन सक्छ। नयाँ परिस्थितिको सामना सजिलो हुँदैन। व्यक्ति, परिवार, समाज, राजनीति सबै ठाउँमा क्रमभङ्गको प्रसङ्ग आइरहने कुरा हो।
तर क्रमभङ्गले सधैँ सकारात्मक नतिजा दिन्छ त ? यो चाहिँ मुख्य सवाल होला। निर्णय कति सुझबुझपूर्ण ढङ्गले लिइएको छ, त्यसले नै सकारात्मक, नकारात्मक भबिष्यबारे बताउँछ।
चौथो बरियतामा रहेका डा. मनोज कुमार शर्मालाई नयाँ प्रधानन्यायाधिशको रुपमा शिफारिस गरिएपछि यसलाई क्रमभङ्गको उपमा दिइएको छ। र सिफारिसको आधार कार्यदक्षतालाई दिएको भनिएको छ।
यस प्रकारको क्रमभङ्गको प्रयोग विगतमा एमाले, माओवादीले पनि गरेका थिए । तर ती कदमहरुले खासै सकारात्मक परिणाम दिएको उदाहरण भेटिएको छैन । मलाई सम्झना नभएको पनि हुन सक्छ।
बचाउ तर्कको रुपमा कार्यसम्पादनलाई आधार मानिएको भनिएपनि बुझ्न के सकिन्छ भने सपना प्रधानको पुराना दलसँगको बिरासतकै कारण उनी प्रमको रोजाइमा पर्न नसकेको तथ्य प्रष्ट छ। यहाँनेर व्यक्तिको हिजोको साइनो भन्दापनि जिम्मेवारी निर्वाहको क्रममा उनको भूमिका र दक्षतालाई प्राथमिकता दिनुपर्ने हो।
क्रमभंगलाई जीवबिज्ञानमा उत्परिबर्तन (Mutation) सँग दाँज्न सकिन्छ। उत्परिवर्तनले हठात् वा अचानक परिवर्तनलाई इङ्गित गर्छ, र यो बिधि बाहिरकै प्रक्रिया हो। उत्परिवर्तनले अनुकुलता जस्ता कुरामा सहयोग गरे पनि यसले प्राय शरीरमा बिकृतिको प्रवेश गराएको हुन्छ।
क्रमभङ्गलाई क्रान्तिसँग पनि दाँज्न सकिन्छ। यसरी दाँज्दा मानव सभ्यतासँग जोडिएका ‘कृषि कान्ति’ र ‘औद्योगिक क्रान्ति’ ले सकारात्मक नतिजा दिएका छन् । तर यी क्रान्तिहरु Creative destruction मा आधारित थिए। जसकाबारे छुट्टै ब्याख्या गरौँला। क्रान्तिले यथास्थितिलाई त्याग्ने र नयाँ चरणमा प्रवेश गर्ने ढोका खोल्छ। धेरैजसो समाजका क्रान्ति सचेत व्यक्तिहरुको अगुवाईमा हुन्छ। किनकि खराव स्थितिकाबारे उनीहरु सचेत हुन्छन, र बिद्रोहका लागि तयार हुन्छन। तर बहुसंख्यक मानिसहरु नयाँ मुद्दाका लागि मानसिक रुपमा तयार भैसकेका हुँदैनन्। यसैले कतिपय अबस्थामा प्रतिक्रान्ति पनि भैरहेको हुन्छ।
त्यसैले सुधार वा परिवर्तन प्रक्रियागत वा क्रमिक रुपमा हुनसकेको अबस्थामा मात्र त्यसले सकारात्मक दिशा समात्न सक्ने र नतिजा दिगो रहने देखिन्छ। सानो समूहले आबस्यकनै भएपनि बहुसंख्यकलाइ राजि नगराइ लिएको निर्णयले दिगो र सकारात्मक उपलब्धि हाशील हुन सक्दैन।
सुकुम्बासी बस्तीमा डोजर लगाउने आदेश भएकै दिन बेलुका (बैसाख ९) बिरोध स्वरुप केहि प्रश्नहरु उठाएको थिएँ । त्यो मेरो चेत बोलि मात्र थियो । यस्ता बोलीहरु एकसाथ धेरै सङ्ख्यामा बोलियो भने एक खालको बलियो आवाज बन्छ । वा त्यसले गलत काम रोक्न पर्याप्त दवाव सृजना गर्न सक्छ । चाहिएको बेला प्रतिपक्षी दलहरु गुमनाम जस्तै भए । यतिबेला बल्ल क्रमशः बिरोधि अवाजहरु थपिदै गैरहेको छ । बालेन वा रास्वपालाई ब्याक फायर हुन थालेपछि अहिले ब्याक गियर लागेको अबस्था छ ।
सामाजिक सञ्जालमा लेख्नुको अर्थ ‘मैले जानेको छु, मेरो सुझाव सत्ताशीनहरुले हेर्छन, पढ्छन र आफ्नो काममा लागु गर्छन’ भन्ने हैन । यस्तो शायदै हुन्छ । यस्तो काम त बिचार निर्माणको प्रक्रियामा सहभागी हुनका लागि मात्र हो । एकै खालका मत र बिचार धेरै ठाउँबाट आइरहँदा त्यसले एउटा अवधारणा सृजना गर्दछ, र पछि एक खालको दृष्टिकोण वा बिचारको रुप ग्रहण गर्न सक्छ । सत्य कुराहरु स्थापित गर्न मद्दत पुर्याउन सक्छ ।
हो अहिले म नेपालमा छैन । एक खालको जीवन चलिरहेको छ । नेपालको बारेमा नबोल्दा, चासो नदिँदा पनि जीवन चलिरहन्छ । तर मेरो चिन्तन नेपालसँग जोडिएरै बसिरहेको छ। प्रविधिले त्यो सुबिधा उपलब्ध गराएको छ भने मैले किन सदुपयोग नगर्ने ? तर नेपालसँग जोडिएर लेखिरहँदा कतिपयलाई असहज लागेको मनोविज्ञान पनि बुझिन्छ । कसै-कसैले छेड-खानि र घुमाउरो पाराले आक्रमण पनि गरिरहेका हुन्छन । त्यसलाई म अन्यथा ठान्दिन । मानिसहरुको बुझाइको स्तर र बिषयहरुलाई हेर्ने आ-आफ्ना दृस्टीकोण पनि हुन्छन । मेरो जीवनदृस्टी र आदर्शसँग सबै सहमत हुनपर्छ भन्ने म ठान्दिन । त्यसैले असहमतहरुसँग लड्न, भिड्न जाने चलन मेरो छैन ।
एउटा सचेत व्यक्तिको नाताले हाम्रो एउटा कर्तब्य हुन्छ । मानिसहरुमाथि अन्याय भैरहदा चुप रहन सकिँदैन । शासकहरुको मनोमानी, बैमानी र ज्यादतीका कारण संसारका थुप्रै ठाउँमा मानिसहरुले दुख पाइरहेका छन् । अन्यायपूर्ण घटना संसारको जुनसुकै कुनामा किन नघटोस ? निर्दोष जनता माथिको अत्याचार चाहे नेतान्याहूले गाजामा गरेको होस् वा ट्रंपले अमेरिकामा, बोल्नुपर्छ।
नेपालीको कुरा छोडौँ; भाद्र २३, २४ मा नेपाल जलिरहँदा नेपाललाई मायाँ गर्ने थुप्रै बिदेशीहरु टिकटक भिडिओ मार्फत बलिन्द्र आँसु बहाउँदै रुँदै प्रार्थना गरिरहेका भेटिन्थे । तपाइँसँग करुणा छ, समानुभूतिको गुण छ भने संसारका कुनैपनि ठाउँमा हुने आततायी र अन्यायपूर्ण घटनाले स्वभाविक रुपमा उद्वेलित गराउँछ। मानवीय संवेदनाको बिषयमा हरेक अर्को मान्छेले बोल्नु पर्छ भन्ने लाग्छ। मानवता वा मानवीय संवेदनाको कुनै सिमाना हुँदैन।
मानिसहरुलाई आफूले बुझेको सत्यनै सबैभन्दा ठूलो सत्य लाग्दो रहेछ। बालेन्द्र शाहलाई लागेको पनि तेही नै हो। अनि धेरैलाई के लाग्छ भने पुराना दलहरुले सबै बेथितिहरु नियतबस वा जानी-जानीनै भित्र्याएका हुन्। सहि नतिजा निस्कन नसक्नुमा एकमात्र कारण हुँदैन । बेथिति भित्रिनुमा समस्यालाइ राम्रोसँग बुझ्न नसक्नु, अथवा आबस्यक प्रयास नगरिनु, सहि तरिका नअपनाइनु, समाधानको उचित बाटो पत्ता लगाउन असफल हुनु, सहि निकास निकाल्ने आवस्यक सिप वा दक्षताको अभाव हुनु, आदि अनेकौँ कारणहरु हुन सक्छन । बितेका ३५ बर्षमा समस्या समाधानका लागि कसैबाट पनि सकारात्मक प्रयास हुँदै भएन भन्न मिल्दैन ।
पहिलेकाले समस्या समाधानमा के त्रुटी गरे? किन असफल भए? अहिलेको सरकारले त्यही बिन्दुबाट काम थाल्नुपर्थ्यो। यानेकि आबस्यक संयन्त्र निर्माण गरेर अनुसन्धान/अध्ययनको बाटोबाट काम थाल्नु पर्थ्यो । त्यसपछि बिज्ञ र सरोकारवालाहरुसँग छलफल, बहस मार्फत समाधानका खाका तयार गर्नपर्थ्यो । त्यसको लागि कति चाहिन्छ, समय लिन पर्थ्यो ।
कतिपय बिषयहरु हामी जे बुझीरहेका हुन्छौँ, वा औसत बुझाई जे हुन्छ, वास्तविकता त्यस्तो नहुन सक्छ । सत्य-तथ्य त गहिरो अध्ययनपछि मात्र थाहा लाग्न सक्छ । अहिलेको सतही बुझाइअनुसार बस्तीमा आश्रित सब अतिक्रमणकारी, स्वार्थि, दलहरुद्वारा पालित-पोषित हुकुम्बासी ठहर्याइयो । वास्तविकता त्यस्तो थिएन । त्यहाँ बहुसंख्यक दलित भूमिहीन, सिमान्तकृत कम्जोर वर्गका नागरिक थिए, जसलाई राज्यको वास्तविक संरक्षण चाहिएको थियो ।
पुरानाले बिधि वा ढङ्ग पुर्याएर काम गर्न सकेन भनेरै नै जनताले राम्रो बिकल्पको रुपमा अहिलेका जान्ने व्यक्तिलाई जिम्मेवारीमा पठाएका हैनन् र ? अनि फेरि काम गर्ने तरिका उही हचुवा र पुरानै पाराको भए पछि कसरी राम्रो नतिजा निस्किएला र ?
बिधि र प्रक्रियाको बाटो, छोटो वा छिटो (shortcut) हुँदैन । त्यसलाई नाघ्नु भनेको जोखिमको बाटोमा जानु हो । यस्तो कामले घाटा हुने आफैलाई हो । यस्तोमा समयक्रममा कानूनको फन्दामा परिने जोखिम उत्तिकै रहन्छ ।
एउटा बच्चालाई साथीहरु छुट्ने पिर र पढिरहेको स्कूल छुट्ने चिन्ता थियो ।
एकजना वयस्क आँखाभरि आँसु पार्दै, बरु गोलि खाने तर आफूले पालेका गाईहरु छोडेर कतै नजाने अड्डी कस्दै थिए ।
केहि बच्चाहरु आफ्ना भत्काउँदै गरेका घरहरु हेरेर डाँको छोडेर रुँदै, काँप्दै थिए ।
आफ्नो भत्केको घर देखेर एक निरिह वृद्ध आमाको आँखाबाट बलिन्द्र आँसु झरिरहेको थियो ।
अनुमान गरौँ, त्यहाँ अन्य बिरामीहरु, अशक्तहरु, बृद्द-बृद्दाहरु, सुत्केरीहरुको अबस्था कस्तो थियो होला ?
त्यसैले, सिद्दान्तअनुसार मानवबस्तीमा जबर्जस्ति गर्न मिल्दैन । त्यहाँ मान्छेका भावनासँग जोडिएका थुप्रै कुराहरु हुन्छन । ढुङ्गा, माटोसँग पनि भावना गाँसिएको हुन्छ। मायाँ हुन्छ।
अबोध बालबालिकाको मस्तिष्कमा आघात पुग्छ। वास्तवमा के भैरहेको हो उनीहरूलाई थाहा हुँदैन।
त्यसैले होला, पुनर्स्थापना कार्यक्रम अन्तर्गत अमेरिकामा आधुनिक सुख-सयलको जिन्दगि बिताइरहेका भुटानी शरणार्थीहरु झापा बेलडाँगीमा आफ्ना पुराना झुप्रामा आएर रुवाबासी गरेको देखेको छु ।
समय लिएर, उनीहरुको सुरक्षित ब्यबस्थापनको ग्यारेन्टी गरेर मात्र खालि टहराहरु हटाउनु पर्ने हुन्छ । त्यसैले हतारमा डोजर लगाउने काम कुनैपनि ढङ्गले संगतिपूर्ण हैन ।
राज्यले कमजोर वर्गमाथि अवाञ्छित ढङ्गले शक्ति प्रयोग गरेको छ, यो लोकतन्त्रको मूल मर्म अन्तर्गत पर्दैन । उ त निमुखाको संरक्षक हो ।
तर अनौठो के पनि देखियो भने; यी रोदन, आँसु र क्रुर दृश्यका बीच ठुलै भिड उत्सब मनाइरहे जस्तो देखिन्थ्यो । वाह-वाहि थियो ।
औँलामा घाउ लाग्यो भनेर उपचारका अनेक उपायहरु नसोची हतारमा औँलानै काटेर फालीदिने मुर्ख्यांइपूर्ण कामको निकै बढाँइ भैरह्यो । भीडमा समाजका मै हुँ भन्नेको संख्या पनि कम थिएन ।
बिधि-प्रक्रिया, अदालतको निर्देश, आफ्नै पार्टीको बाचा, आफ्ना १०० बुँदे कार्ययोजना, मन्त्रीपरिषदको निर्णय, पार्टीद्वारा अनुमोदन; केहि-केहि पनि पालना नगरिएको यस्तो ध्वंसात्मक कामले के सङ्केत गर्न खोजेको हो ?
समस्या हो, सम्पन्न गर्नुपर्ने काम हो, तर हतारो गर्नुपर्ने हैन । गरिवहरुले राज्य (कसको हो राज्य) को छहारीमा थप ‘छ’ महिना वा ‘एक’ बर्ष आश्रय पाउँदा के बिग्रन्थ्यो ? सरकारले प्राथमिकतामा राखेर गर्नुपर्ने कामका चाङ्ग छन् ।
यो सरकार सफल हुनुपर्छ भन्ने धेरैको सकारात्मक कामना छ । त्यसैले सरकारले कार्यकाल रचनात्मक कामहरुबाट थालनी गरोस भन्ने अपेक्षा हो, तर दृश्य त्यस्तो देखिएको छैन ।
“सुरक्षा प्रमुख डाकेर प्रधानमन्त्रीले भने- ‘शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू”
यो समाचारले निकै दुखित बनायो । यो समाचार सत्य हो भने प्रधानमन्त्री बालेन शाहसँग केहि प्रश्नहरु सोधौँ !
१. यस्तो निर्देशन दिनु पूर्व पर्याप्त अध्ययन गरेर वास्तविक र नक्कली सुकुम्वासीको पहिचान भैसकेको हो? २. पाँच बर्षे पूर्ण पदावधिको साथ् गठित सरकारको यति हतारोमा वा बिशेष प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने बिषय हो यो? ३. हटाइन लागेका सुकुम्बासीहरुको न्यायपूर्ण पुनर्स्थापनाको योजनाहरु तयार भैसकेको हो? ४. सरकारले उत्पीडितहरु, सिमान्तकृतहरुको समस्याका बिषयमा काम गर्दा आतंकित गराउने ढङ्गले गर्ने की अभिभावक वा संरक्षकको रुपमा गर्ने?
प्रधानमन्त्रीलाई सम्बेदनशील काममा यो हतारो गर्नु पूर्व नेपाली समाजमा व्याप्त संरचानात्मक विभेद र संघर्षको इतिहास पढ्न अनुरोध छ ।
सुकुम्बासी मध्ये कति वास्तविक नहोलान, मौकाको फायदा उठाएका, बिचौलिया होलान । तर मेरो बिचारमा यो बिषय हचुवाको भरमा वा हतारोमा सम्पन्नु गर्नुपर्ने बिषय हैन । यस्तो कामले सरकार थप विवादमा फस्नेछ । आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने काम नगरौँ ।
नयाँ जनादेश प्राप्त शक्तिशाली सरकारले रचनात्मक ध्वंस (Creative destruction) को नियम अनुसार काम गर्नेछ भन्ने बिश्वास हो ।
ढिलो र चाँडोको नियम हुन्छ । हामी प्राय छिटो वा चाँडोलाई राम्रो मान्छौँ । तर कैयौँ अवस्थामा प्राय ढिलोले जितिरहेको हुन्छ ।
कुनै पनि काम छिटो-छिटो गर्दा धेरै त्रुटीहरु भैरहेका हुन्छन । जस्तो गन्तब्य पुग्न हतार गर्दा बाटोमा हेर्नुपर्ने, याद गर्नुपर्ने थुप्रै कुराहरु छुटिरहेका हुन्छन । आबस्यक कैयौँ महत्वपूर्ण कुराको हेका राख्न सक्तैनौँ । फर्कनु पर्दा आफू हिँडेको उही बाटो नौलो लाग्छ, ठम्याउन गाह्रो पर्न सक्छ ।
मोटर गाडीमा यात्रा गर्दा पनि गतिलाई तिब्र बनाउँदा जोखिम बढ्ने हुन्छ । वरिपरिका सुन्दर दृश्यहरुको आनन्द पनि लिन सकिंदैन र छुट्छन । पहाड चढ्दा पनि छिटो-छिटो चढ्नु जोखिमपूर्ण मानिन्छ । बिस्तार अनुकुलता बढाउँदै चढ्ने सुझाव दिइन्छ । नत्र लेक लाग्ने डर हुन्छ ।
हामीले खाद्य सामाग्रीको ताजापन लम्ब्याउन फ्रिजको प्रयोग गर्छौँ । बिज्ञानका अनुसार खाने कुराहरुको श्वास-प्रश्वासको दर घटाउँदा वा ढिला गर्दा यस्तो फायदा हुन्छ, वा खाद्यसामाग्रीको आयु लम्बिन्छ ।
प्राय गति ढिलो हुने जीवहरु लामो समय बाँच्ने तथ्य भेटिएको छ । कछुवाको आयु २०० बर्षभन्दा बढी हुन्छ भने, पानीमा पाइने स्पन्जको आयु २००० बर्ष भन्दा बढी हुन्छ । यी सुस्त प्राणीहरु हुन् ।
त्यसैले हतार गर्नुभन्दा, वरिपरि हेर्दै, सोची बिचारी सावधानीपूर्वक अघि बढ्दा नै बढि लाभ प्राप्त हुने कुरामा बिश्वास गर्न सकिन्छ ।
हाम्रो समाजले प्रायः तीक्ष्ण, प्रभावकारी र चलाख मानिसहरूलाई बढी प्रश्रय दिन्छ ।
तीक्ष्ण र प्रभावकारीले नतिजामा तिब्रता ल्याउला ।
चलाखले काम छिटो-छिटो सम्पन्न गर्ला ।
तर सुस्त तर धीर-गम्भीर जीवन बिताउनु धेरै तरिकाले बुद्धिमानी हो ।
मेरो रोजाइ आत्मविश्वासका साथ गरिने, ढिलो तर स्थिर गतिमा हुने काम हो ।
आज प्रेम दिबस अर्थात् ‘भ्यालेन्टाइन डे’। यो अवसरमा धेरैलाई थाहा नभएको हाम्रो आफ्नै मौलिक प्रेम दिबसबारे छोटो चर्चा गरौँ ।
नेवा: समुदायमा मनाइने प्रेम दिबसलाई “मतिना पारु” भनिन्छ ।
योमरी पुन्ही पछिको दिन (पौष कृष्ण प्रतिपदा) लाई शताब्दीयौं देखि नेवा: भाषामा “मतिना पारु” भनेर चिनिन्छ । “मतिना” को अर्थ “प्रेम” र “पारु” को अर्थ “प्रतिपदा” हो । नेवा समुदायको मान्यता अनुसार, यो दिनमा गरिएको प्रेम र स्नेह, वा प्रेम प्रस्तावहरू सफल हुन्छन् वा दीर्घकालीन र स्थायी हुन्छ ।
परम्परा अनुसार, योमरी पुन्हीको दिन घर-घरमा गएर गीत गाएर ‘योमरी (एक प्रकारको रोटी)’ माग्ने चलन छ । यस्तो परम्परालाई ‘योमरी फ्वनेगु’ भनिन्छ, जुन प्रेम र स्नेहसँग सम्बन्धित छ । घर-घर गएर योमरी माग्दा प्रेमीहरूले आफ्ना प्रियजनहरूलाई गोप्य रूपमा चियाउने र कुरा गर्ने अवसर मिल्ने गर्थ्यो । यहि मौकामा भेटघाटको समय र स्थान तय गरिन्थ्यो । प्रेमील जोडीहरु भोलिपल्ट गोप्य रूपमा भेट्थे । त्यो समय समाजमा खुल्ला प्रेम बर्जित थियो ।
यो मौलिक प्रेम दिवस हिजो-आज लोपोन्मुख छ । नेवा समुदाय र सबै नेपालीहरूको लागि यति महत्त्वपूर्ण संस्कृति लगभग लोप हुँदै जानु विडम्बनाको कुरा हो ।
‘भ्यालेन्टाइन डे’ को चलन चाहिँ प्राचीन रोमबाट बिश्वभरि फैलिएको हो । प्रेम जोडीका अभिभावक ‘सेन्ट भ्यालेन्टाइन’ को मृत्युका दिन (फेब्रुअरी १४) यो दिबस मनाइने गरिन्छ ।