
भुँइ कुइरोहरु उठ्न नपाउँदै
भुवादार बादलको सप्को ओढेर
आँखामा पिरो धुँवा बोकी
आली-आलीमा
भारहीन पैतालाहरु टेक्दै-टेक्दै
फटक-फटक
लामा पाइला चाल्दैछिंन असार
हतार-हतार ।।
बाटोमा कसैले अल्मल्याउनु हुन्न उसलाई
एकसुरमा अघि बढिरहेकीछे ऊ
पिठ्युमा स्याखु ओढेर पनि
पानीले भिझेकी छे
शिरमा छत्री जोडेर पनि
पसिनाले निथ्रुक्क रुझेकी छे ।
एकनास लम्कीरहेकीछे ऊ
दृश्यहरु आँखाको डिल नाघेर
हिलोमा डुबुल्की मारिरहेछन्
यता
बिश्वासको गह्रा भ्वाङ्ग परेकोछ
त्यसलाइ टाल्नु छ
उता
आस्थाको डिल भत्केको छ
त्यसलाइ उकास्नु छ
पानी येथेष्ठ पर्ने हो-होइन
मिहेनत जस्तै
मंसिरमा परिश्रम फल्ने हो-होइन
चिन्ताग्रस्त छे ऊ ।।
तर पनि
लिएर उत्साह भरिएका आँट
खोला-खोल्सीहरु सँग मित लाउन
छहरा-पहरासँग गित गाउन
लम्कीरहेकी छे फाँट-फाँट
हतार-हतार
यसपालिको असार ।