भालेको डाँकसँगै
जब ब्युँझन्छु म
र
आँखा खोल्छु एका बिहानै
उसले पनि
आँखा खोल्छ म सँगै र
मुस्कुराउँछ मसँगै,
सँग-सँगै
चिसो हावाको अभिबादन
टक्र्याउछ मलाइ,
र देखाउछ क्षितिजतिर –
“उ त्यो ध्रुब तारा हो,
हुस्सुले पहाड
छेकिराखेको अझै
उ..…. भागिरहेछ बादल टाढा-टाढा
सुर्योदयको आभाससँगै”
र एकाएक
पोल्टाभरि उज्यालो ल्याएर
छर्छ मेरो कोठामा,
म अभिनन्दन टक्र्याउछु उज्यालोलाई
र पुस्तक खोल्छु उज्यालोमा,
उ मुस्कुराईरहन्छ
एकोहोरो टोलाईरहन्छ
मतिर प्रसन्न मुद्रामा
सधैँ सधैँ,
मेरो गुरु
मेरो कोठाको झ्याल ।
०४७ चैत्र २९