सुन्छु,
हिजो-आज,
बारीको कांल्लामा
सयपत्री फुल्दैनन
घर अगाडिको गह्रा बाँझै छन्
त्यहाँ
मस्याङ्ग, बोडी अनि भटमास फ़ल्दैनन ।
मलाई चिन्ता छ
भाइ शहरमै रमाएको छ,
बा-आमाको हात-गोडा बसिसकेछन
उसले सोधनी सम्म गरेको छैन
पोहोर सालको दसैं खर्च
यतैबाट पठाएको थिएँ,
यसपाला पनि खर्च मै पठाउला
अहिलेको साल घर आउन पाइएन
बाले मोबाइलमा कुरा गर्दै भन्नु भयो-
‘बाबु भर् तेरै हो ।’
यता मलाइ चयन पटक्कै छैन
दिन-रातको खटाइ छ
‘बा-आमा’ भोकै नपरुन
भाइको क्याम्पस पढाइ नरोक्कियोस’
बिहान उठ्नासाथ
चियाको कपमा सुसेलोले फुक्दै
उतैको खबर पढिन्छ
समाचारका हेडलाइनहरु
हिजो र आज
खासै भिन्न लाग्दैनन्
सिंहदरबारमा अझै औसतहरुको राज छ
सिल्लीहरु अझै दिल्ली दौडमै ब्यस्त छन्
बिमानस्थलमा नबयुवाहरुको लर्को उस्तै छ
गन्तब्य लक्षित यात्राहरु
नरक-यात्रामा टुङ्गिन छाडेका छैनन्
यी र यस्तै बासी समाचारहरुले
सधै मन कोक्याई रहन्छ ।
तर
मन बुझाउन
छाकै पिच्छे मलाइ दाल-भातनै चाहिन्छ
दृश्य हिमालकै राम्रा लाग्छन
बाणी बुद्धकै प्यारा लाग्छन
चिसो पानी पिउँदा
घर माथिको
ढुंगे धाराकै याद आउँछ ।
हिजो-आज त
चाड-बाड मनाउन
किन्नर-किन्नरिहरु उतैबाट आउँछन्
हामी बसेको घरको आँगनमा
‘बागिना’* पस्किन्छन्
हाम्रो खुसीले आकाशै भेट्छ
फर्कदा उनीहरु
मुटुभरी माया र छातीभरि गहिरो बिस्वास
बोकेर फर्कन्छन ।
त्यसैले,
हिजो-आज
सोध्न मन लाग्छ
कसले भन्छ?
देश भित्र मात्र देश हुन्छ
म उदघोष गर्छु
देश बाहिर पनि देश हुन्छ ।
(* बाजा-गित-नाच)
पुष ३०, २०७०