एउटा दृस्टीकोण
सुहागरातका प्रहरहरू
एउटा मृगतृष्णा ।
रातको धुमिल प्रकाशमा
घुम्टो भित्र ओझेल परेको
मलिन मलिन
तिम्रो अनुहार खोज्न
म दलिन-दलिन तिर
चियाउँदै हिडिरहेछु,
आकाङ्क्षा उमार्दैछु
सुन्दर सपना ओढदैछु
सुदृढ भबिस्यको मोडेल बनाउने
कल्पनामा डुबदैछु ।
कल्पनाको सानो संसार
तिमी भित्र र म भित्र
सिमित रहिरह्यो रातभरि,
न म तिम्रो नजिक जान सकेँ
न तिमि मेरो नजिक आउननै सकयौ ।
बरु पटक पटक
एउटै क्रम दोहोरिरह्यो
जब म ब्युझिरहेको हुन्थेँ
तिमी शायद सपनामा
भविष्य बुनिरहेकी हुन्थ्योउ
जब तिमी ब्युँझिरहेकी हुन्थ्योउ
म निदाइरहेको हुन्थेँ
यसरी सिङ्गै रातले
बिना कुनै सम्झौता घुम्टो उघार्यो ।
अनि सधैँझैँ
भूक-भुकेमै
तिम्रा पाइलाहरु
बागमती र पशुपतितिर डोरिए,
यता मेरा निस्तेज आँखाहरु
एक्काशी बुद्दका तेजिला आँखासँग
जुधे र नतमस्तक भए ।
यसरी
तिमी पूर्व र म पश्चिम
रात त्यसै बित्यो
कुनै सिर्जना रोप्न सकिएन
कुनै सम्झौता लेख्न सकिएन
तिमी र म बीच
कुनै सुत्र बाँधिन सकेन
मेरी प्रेयसी काठमान्डू ।।।
०४६ जेष्ठ १६