यता म
उता तिमी र
र हामी बीच
सदियौं देखि उभिएको थियो
अभेध्य पर्खाल।
यताबाट म
तिम्रो छालाको रङ्ग हेर्थें
र द्वेष पाल्थें
उताबाट तिमी
मेरो
नाकको उचाइ अनुमान गर्थ्योउ र
हरदम घृणा फाल्थ्योउ।
म तिम्रो
आँखाको गोलाई मात्र हेर्थें
दृस्टीको गहिराइ नाप्न सक्थिन
तिमी मेरो छातीको रौँ हेर्थ्योउ
मनको विशालता नाप्न सधैँ असमर्थ हुन्थ्योउ।
यसै बीच त्यो अजङ्गको पर्खाल
एकाएक ढल्यो
त्यसका प्रत्येक छपनी
दुबैको मस्तिष्कमै बज्रियो।
रगत पच्छे भयौं हामी
र
एका-एक झस्कियौँ।
‘रगत दुबैको रातै रहेछ’
पीडाले चिच्यायौँ
आर्तानादी स्वर दुबैको उस्तै निस्कियो
भोकमा भेटेको
गुन्द्रुक र दालको स्वाद भिन्न थिएन
प्रियजन हाम्रा साझा थिए
शान्त्वनाको ध्वनी उस्तै सुनियो।
अहिले एउटै छत मुनि
उही छिद्रबाट
उज्यालो चन्द्र सूर्य हेर्दैछौँ।
तिम्रो हातमाथि मेरो हातको स्पर्श छ
मन मन जोडिदैछ।
यहि मौका हो
सङ्कल्प गर्नुछ
ढलेको पर्खाल
फेरि उठ्न दिनु हुन्न
त्यसैको छपनी माथि
हामी चाहिँ उठ्नुपर्छ।
९ जुन २०१५