किन मुस्कुराउदैन मेरो देश

म एउटा देश हेरिरहेको छु

जहाँ,

हरेक बिहान हृदयले सगरमाथा छुन्छ,

र छाती गौरबले फुल्छ।

हरेक प्रार्थनामा

मनले लुम्बिनी टेक्छ

र शान्तिको कामना गर्छ ।

फराकिलो क्षितिज नाप्ने

स्वयम्भुको आँखामा

हरेक साँझ

रमाइरहेको नेपालीपन भेटिन्छ ।

म एउटा देश खोजिरहेको छु

जहाँ सधैं

गण्डकी प्रेमको गीत गुनगुनाउँछ,

कर्णाली एकताको हात फैलाउछ

र कोशी चेतनाको दुन्दुभी बजाउछ ।

मादलुको तालमा चल्छन मेरा गोडाहरु

खुट्टाहरु देउडाको तालमा उठ्छन र

मारुनिमा कम्मर मर्किन्छन ।

कौडामा मचिन्छन शरीर र

साकेलामा फनक्कै घुम्छौ हामी ।

मलाई पुग्ने रहर छ त्यस्तो देशमा

जहाँ

माछापुछ्रे फेवामा पौडिन्छ आनन्दले,

सुन्दरी रारा

हिमालको छायासग प्रेमालाप गर्छ र

संसारकै मन लोभ्याँउछ ।

यति हुँदाहुँदै

म मनभरी प्रश्न बोकिरहन्छु सधैँभरि 

किन अनुहारमा उज्यालो बोक्दैन मेरो देश,

किन मुस्कुराउदैन मेरो देश !

किन मुस्कुराउँदैन मेरो देश, कबिता सङ्ग्रह २०७०

Leave a comment