सुन्दर देश रोजिरहेछु

उ आगो ओकेलिरहेको बेला
म आकाश हेरेर आँखा टोलाइरहेको छु
छ की त्यहाँ कतै मेरो देश
म मेरो देश खोजिरहेछु ।

उसले प्रतिशोधको राँको बालिरहेको बेला
म क्षितिज जोडेर मन छामिरहेछु
छकी कतै धुक धुकी मेरो देशको
म देश छामिरहेछु ।

उसले घृणा पालिरहेको बेला
मैले उबड-खाबड र घायल मन जोडिरहेछु
जुनले किरण बांडिसकेछ शितल
म मन भित्र घडा थापिरहेछु।

मैले आँखा टोलाइरहेको बेला
घामले पाइला टेकिसकेछ त्यहाँ
पोखिएर कतै तिमीले पनि पायोकी
म उसलाई सोधिरहेछु ।

म अहिले क्षितिज हेरेर
आफ्नै आँखामा आकाश नापिरहेछु
छकी त्यहा मेरो देश
म मेरो देश खोजिरहेछु
म शान्त र सुन्दर देश रोजिरहेछु ।

किन मुस्कुराउदैन मेरो देश, कविता सङ्ग्रह २०७०

Leave a comment