मेरी आमा !

आँखाको डील नाघेर

नानी भित्र बाट

चियाएको थिएँ,

तिमि लफ़्रक्कै भिजेकी थियौ

मलाइ सोध्नु थिएन

सोधिन !

तिमी शान्त !

तिमी क्लान्त !

रुझेको आँखालाई

मैले बुझेको थिएँ

ती खुसी मिश्रित

मोति-कणहरु थिए !

छाती तिम्रो,

अधिकारै थियो मेरो,

कति फराकिलो,

गर्बले नाङ्ग्लो जत्रै पाएको थिएँ मैले

हृदय छोएको थिएँ

कति उदार !

मलाइ खोज्नु थिएन

ओठमा मुस्कान

अनुहारनै धप्प बलेझैं थियो !

शरीर श्राबले लपक्क

सुकोमल ती काला केशहरु

फर-फर सुबास छर्दै थिए !

म अनुभूत गर्दै थिएँ,

क्षणमै तिम्रा पाइला

आकाश टेक्तै थिए

संसारै जितेको खुसी थियो

संसारै भुलेको बुर्कुशी थियो

मलाइ जन्माएको क्षण

मलाइ रौँ-चिरा थाहा छ

मेरी आमा !


माघ १६, २०७०

Leave a comment