मेरी आमा !

आँखाको डील नाघेर

नानी भित्र बाट

चियाएको थिएँ,

तिमि लफ़्रक्कै भिजेकी थियौ

मलाइ सोध्नु थिएन

सोधिन !

तिमी शान्त !

तिमी क्लान्त !

रुझेको आँखालाई

मैले बुझेको थिएँ

ती खुसी मिश्रित

मोति-कणहरु थिए !

छाती तिम्रो,

अधिकारै थियो मेरो,

कति फराकिलो,

गर्बले नाङ्ग्लो जत्रै पाएको थिएँ मैले

हृदय छोएको थिएँ

कति उदार !

मलाइ खोज्नु थिएन

ओठमा मुस्कान

अनुहारनै धप्प बलेझैं थियो !

शरीर श्राबले लपक्क

सुकोमल ती काला केशहरु

फर-फर सुबास छर्दै थिए !

म अनुभूत गर्दै थिएँ,

क्षणमै तिम्रा पाइला

आकाश टेक्तै थिए

संसारै जितेको खुसी थियो

संसारै भुलेको बुर्कुशी थियो

मलाइ जन्माएको क्षण

मलाइ रौँ-चिरा थाहा छ

मेरी आमा !


माघ १६, २०७०

केही बुँद अनि बिम्बहरू

१ झुप्राहरु

हरेक महान दर्शन र

महान बिचारहरु

झुप्राहरुको

छाप्राहरुको

सुन्दरतम तस्बिर बोकेर

गरीबहरुको आस्था बनेर उठ्छ र

उठ्दै उठ्दै

आखिर

महलहरुको

शान शौकात र

आडम्बरमा

हराउँछ ।

२ महापुरुषहरु

 कथित् महानतम

महापुरुष र जननेताहरु

झुप्राहरुको प्रदक्षिणा पछि

गरिबहरुको चरणमा पर्दछन

सुन्दर संसार र

सभ्य जीवनको

सम्मोहन दिएर

अञ्जुलिभरि आशीर्वाद थापेर फर्कन्छन

तर जब

उनीहरुको जीवनमा खुड्किला थपिदै जान्छन

क्रमश:

भड्किला प्रदर्शनहरुमा अक्शर उनीहरु

देखिन थाल्छन ।

३ राजनीति

आँधी हो

जसको चपेटामा पर्दा

थुप्रै सुन्दर रुखहरु

डढन सक्छन र

उसैको प्रेरणाले

कैयौं निस्प्राण ठुटाहरू

बल्न सक्छन ।

४ साहित्य

आँखा हो

जसको दृश्यपटलमा

रक्षानमा फालिएको गुलाफ

देबतामा चढ्न सकछ

ढुङ्गा पग्लेर

छताछुल्ल रोइदिन सक्छ

हरेक सुन्दर बस्तु

अत्यन्त कुरुप र

प्रत्यक कुरुप बस्तु

सुन्दर देखिन सक्छ ।

५ मान्छे

 मान्छेको आडमा

ढुङ्गा देवता बनेर

देवल भित्रिएको

देख्न पाइएको छ,

देवता पनि

दयाहीन ढुङ्गा रहेको

हेर्न पाइएको छ,

तर मान्छे आफै

निरन्तर प्रयासको बाबजूद पनि

मात्र मान्छे बन्न

सकिरहेको छैन ।


प्रकाशोन्मुख संग्रह ‘मान्छे भित्रको मान्छे’