काठमान्डू: मेरी प्रेयसी

एउटा दृस्टीकोण

सुहागरातका प्रहरहरू

एउटा मृगतृष्णा ।

रातको धुमिल प्रकाशमा

घुम्टो भित्र ओझेल परेको

मलिन मलिन

तिम्रो अनुहार खोज्न

म दलिन-दलिन तिर

चियाउँदै हिडिरहेछु,

आकाङ्क्षा उमार्दैछु

सुन्दर सपना ओढदैछु

सुदृढ भबिस्यको मोडेल बनाउने

कल्पनामा डुबदैछु ।

कल्पनाको सानो संसार

तिमी भित्र र म भित्र

सिमित रहिरह्यो रातभरि,

न म तिम्रो नजिक जान सकेँ

न तिमि मेरो नजिक आउननै सकयौ ।

बरु पटक पटक

एउटै क्रम दोहोरिरह्यो

जब म ब्युझिरहेको हुन्थेँ

तिमी शायद सपनामा

भविष्य बुनिरहेकी हुन्थ्योउ

जब तिमी ब्युँझिरहेकी हुन्थ्योउ

म निदाइरहेको हुन्थेँ

यसरी सिङ्गै रातले

बिना कुनै सम्झौता घुम्टो उघार्यो ।

अनि सधैँझैँ

भूक-भुकेमै

तिम्रा पाइलाहरु

बागमती र पशुपतितिर डोरिए,

यता मेरा निस्तेज आँखाहरु

एक्काशी बुद्दका तेजिला आँखासँग

जुधे र नतमस्तक भए ।

यसरी

तिमी पूर्व र म पश्चिम

रात त्यसै बित्यो

कुनै सिर्जना रोप्न सकिएन

कुनै सम्झौता लेख्न सकिएन

तिमी र म बीच

कुनै सुत्र बाँधिन सकेन

मेरी प्रेयसी काठमान्डू ।।।


०४६ जेष्ठ १६

सेल्फिस जिन र संविधानको गाँठो

दोश्रो संबिधान सभाले तोकिएको समयमा संबिधान दिनेछ भनि उत्साहका साथ् निर्वाचनमा सहभागी भएका नेपाली जनताको आशा माथि फेरि कालो बादल मडारिन थालेको छ । संबिधान कस्तो बन्नु पर्ने ? जनताले आफ्नो स्पस्ट अभिमत प्रकट गरिसकेका छन् । दुर्भाग्य के हो भने जनताको यो अभिमतलाइ यो वा त्यो बहानामा तोड मरोड़ गर्दै समस्याको समाधान खोजिदैछ । स्पस्ट जनादेश प्राप्त संबिधानसभालाइ निकम्मा साबित गर्दै, जनभावना र लोकतन्त्रको खिल्ली उडाउदै शीर्ष नेताहरुको टेबलमा सहमति खोज्नु, सहमतिकै नाममा अत्यन्त महत्वपूर्ण समय गुजार्दै जानुले आम नागरिकमा निराशा छाउनु स्वभाबिक हो ।

मानिस स्वभाबैले स्वार्थि हुन्छ । आफु, आफ्नो परिबार, नातागोता, आफ्नो समूह, संगठन र दलप्रति आशक्ति देखाउनुमा उसलाई गलत मान्न सकिदैन । यी गुणहरु प्रकृति प्रदत्त हुन् । विज्ञानको यो अकाट्य नियम बाहिर गएर जो कोहि सामान्य मानिसबाट बिशिस्ठ ब्यबहारको आशा गर्नु मुर्खता हुन जान्छ । तर यस्ता गुणहरुको मात्रा व्यक्ति अनुसार फरक हुन् सक्छ । कुनै समूह वा आफ्नै परिबारसँग हिडिरहेको मान्छे अचानक जोखिममा परेमा सबैभन्दा पहिले उसले आफ्नो शरीरको बचाउ गर्न खोज्छ । कुनै अबसर वा लाभ प्राप्त हुने बेला उ आफैलाई सबैभन्दा पहिले मुख्य हकदार ठान्छ र प्राप्तिका लागि सारा उपक्रम अपनाउँछ । स्वार्थ मिल्नेहरु एक ठाउँमा आउछन र समूह बन्छ । यो अन्य जनावरको हकमा पनि लागु हुन्छ । तसर्थ स्वार्थिपन प्रकृति प्रदत्त गुण हो । यस्तो गुण र व्यवहारका कारकको रुपमा प्रशिद्ध जीव बैज्ञानिक रिचार्ड डकिनले स्वार्थि बंशाणु (selfish gene) को चर्चा गरेका छन् । तर मानिस लगायत जनाबरहरुमा यसको अलावा आफुलाई कम महत्व दिएर अर्काको स्वार्थमा समर्पित हुने निस्वार्थी गुणहरु (altruistic) पनि हुन्छ । तर यस्ता गुणले पनि उनीहरुलाई अप्रत्यक्ष रुपमा केहि लाभहरु दिइनै रहेका हुन्छन । यस्तो फायदा मध्ये केहि उनीहरुको बंश, समूह बचाउसँग सम्बन्धित हुन सक्छ । जस्तो एउटा आमाले आफुलाई जोखिममा पारेर पनि बच्चाको बचाउमा ध्यान दिन्छ । शहिदहरु रास्ट्रको नाममा आफुलाई बलिदान गर्छन । राजनेताहरु निस्वार्थ भावले रास्ट्र र जनताको भबिश्यका लागि आफ्ना व्यक्तिगत फायदालाइ उदारतापूर्बक तिलान्जली दिन्छन । यस्तो ब्यबहार निस्वार्थी गुण (altruism) को कारण मात्र सम्भब हुन्छ ।

Continue reading

देश बाहिर पनि देश हुन्छ

सुन्छु,

हिजो-आज,

बारीको कांल्लामा

सयपत्री फुल्दैनन

घर अगाडिको गह्रा बाँझै छन्

त्यहाँ

मस्याङ्ग, बोडी अनि भटमास फ़ल्दैनन ।

मलाई चिन्ता छ

भाइ शहरमै रमाएको छ,

बा-आमाको हात-गोडा बसिसकेछन

उसले सोधनी सम्म गरेको छैन

पोहोर सालको दसैं खर्च

यतैबाट पठाएको थिएँ,

यसपाला पनि खर्च मै पठाउला

अहिलेको साल घर आउन पाइएन

बाले मोबाइलमा कुरा गर्दै भन्नु भयो-

‘बाबु भर् तेरै हो ।’

यता मलाइ चयन पटक्कै छैन

दिन-रातको खटाइ छ

‘बा-आमा’ भोकै नपरुन

भाइको क्याम्पस पढाइ नरोक्कियोस’

बिहान उठ्नासाथ

चियाको कपमा सुसेलोले फुक्दै

उतैको खबर पढिन्छ

समाचारका हेडलाइनहरु

हिजो र आज

खासै भिन्न लाग्दैनन्

सिंहदरबारमा अझै औसतहरुको राज छ

सिल्लीहरु अझै दिल्ली दौडमै ब्यस्त छन्

बिमानस्थलमा नबयुवाहरुको लर्को उस्तै छ

गन्तब्य लक्षित यात्राहरु

नरक-यात्रामा टुङ्गिन छाडेका छैनन्

यी र यस्तै बासी समाचारहरुले

सधै मन कोक्याई रहन्छ ।

तर

मन बुझाउन

छाकै पिच्छे मलाइ दाल-भातनै चाहिन्छ

दृश्य हिमालकै राम्रा लाग्छन

बाणी बुद्धकै प्यारा लाग्छन

चिसो पानी पिउँदा

घर माथिको

ढुंगे धाराकै याद आउँछ ।

हिजो-आज त

चाड-बाड मनाउन

किन्नर-किन्नरिहरु उतैबाट आउँछन्

हामी बसेको घरको आँगनमा

‘बागिना’* पस्किन्छन्

हाम्रो खुसीले आकाशै भेट्छ

फर्कदा उनीहरु

मुटुभरी माया र छातीभरि गहिरो बिस्वास

बोकेर फर्कन्छन ।

त्यसैले,

हिजो-आज

सोध्न मन लाग्छ

कसले भन्छ?

देश भित्र मात्र देश हुन्छ

म उदघोष गर्छु

देश बाहिर पनि देश हुन्छ ।

(* बाजा-गित-नाच)


पुष ३०, २०७०

नेताहरुको अक्षमता : दोष कसको?

बर्तमान नेपाली समाजमा नेताहरुप्रति तिब्र रोष देखिन्छ । सामाजिक सञ्जाल, छापाहरू, नागरिक वृत्त एबम चिया गफहरुमा नेताहरुप्रतिको नकारात्मक बिषबमन छताछुल्ल देखिने गरेको छ । धेरैको बनिबनाउ धारणा हुन्छ – बर्तमान नेत्रित्वबाट जति पनि अकर्मन्यताहरु दोहोरिन्छन, ति सबै नियोजितरुपलेनै गरिन्छन । उनीहरु देशको अबस्था जानाजान सुधार्न चाहदैनन् । देशमा ब्याप्त अनियमता सुध्रियो भने उनको रजाईं चल्ने छैन । आफ्नो र आफ्नो सन्तानको लागि ब्रम्हलुट गर्न पाइने छैन । हामी मध्ये अधिकाधिक माथिकै धारणामा सहमत हुन्छौं होला । हामी बीच ब्याप्त यस्ता धारणा कति सत्य छन् ? यी सबै दृस्टीकोण कति ठिक होला ? उनीहरु माथि अमानबिय र तल्लो स्तरका गालिहरु बर्सनु कति जायज छ ? उनीहरुको गलत क्रियाकलाप र अकर्मन्यतामा हाम्रो हिस्सा होलाकी नहोला ?

प्रकृति र समाज बिज्ञानको आँखाले हेर्दा दोषको भागिदार नेताहरुलाई मात्र बनाउनु अन्याय हुन्छ भन्ने मेरो बिस्लेषण छ । मेरो यो निजि विश्लेषणमा सहमत हुने नहुने छुट सबैलाई छ ।

Continue reading

सुधार्न सकिएला हाम्रो राज्यव्यवस्था ?

प्रकृति विज्ञानको नियमअनुसार जब मानिस जन्मन्छ, तब उसको वरिपरि बाँच्नका लागि आवश्यक आधारभूत प्राकृतिक स्रोतहरू- हावा, पानी र माटो हुन्छ र त्यसमाथि उसको पूर्ण अधिकार हुन्छ । आज पनि अन्य प्राणीका लागि प्रकृतिको यो नियम शाश्वत छ । प्रकृतिले मानिस र अन्य प्राणी भनी भेदभाव गर्ने कुरै आउँदैन । मानव सभ्यताको आदिकालमा यही नियम थियो । तर मानव सभ्यताका हजारौं वर्षहरू पार भैसकेका छन् । अहिलेको युगमा स्रोतमाथिको जन्मजात अधिकारको नियम भत्किएको छ । विश्व मानव सभ्यताको चुनौती र मुख्य दुःख नै यो भत्किएको नियमलाई कसरी सपार्ने वा कसरी व्यवस्थित गर्ने भन्नेमा केन्दि्रत रहँदै आएको छ र सोही माथापच्चीमा मानव समाजले सयौं वर्ष बिताएको छ । यथार्थमा राज्यव्यवस्थाको एउटा सजिलो सूत्र निकाल्न मानव समाज असफलप्रायः देखिन्छ ।

कार्लमाक्र्सले सन् १८४७ मा ‘कम्युनिस्ट घोषणापत्र’ र ‘दास क्यापिटल’ प्रकाशमा ल्याएपछि विश्वमा एक खालको ठूलो हलचल आयो । यस्तो ठानियो, मानव समाजमा रहेका सबै समस्या अब यही व्यवस्थामा हल हुन्छ । उनले सम्पत्तिमाथि समान अधिकारको कुरा गरे । जुन विज्ञानसम्मत अवश्य छ । तर सम्पत्तिमाथि समान अधिकारको कुरा अहिलेको विश्वमा अप्रासंगिक देखिएको छ । पुँजीवादले यो समस्याको समाधान गर्ने कुरै भएन । बरु धनी र गरिब बीचको खाडल बढिरहेको छ । वर्तमान विश्वको अर्को मुख्य समस्या भनेको सम्पत्तिको ठूलो हिस्सा थोरै संख्यामा भएका धनीहरूको नियन्त्रणमा रहनु हो । तसर्थ अहिलेको विश्व राजनीतिको प्रमुख चुनौती भनेकै स्रोतको न्यायोचित वितरण हो । Continue reading

झ्याल

भालेको डाँकसँगै

जब ब्युँझन्छु म

आँखा खोल्छु एका बिहानै

उसले पनि 

आँखा खोल्छ म सँगै र

मुस्कुराउँछ मसँगै,

सँग-सँगै

चिसो हावाको अभिबादन

टक्र्याउछ मलाइ,

र देखाउछ क्षितिजतिर –

“उ त्यो ध्रुब तारा हो,

हुस्सुले पहाड

छेकिराखेको अझै

उ..…. भागिरहेछ बादल टाढा-टाढा

सुर्योदयको आभाससँगै”

र एकाएक

पोल्टाभरि उज्यालो ल्याएर

छर्छ मेरो कोठामा,

म अभिनन्दन टक्र्याउछु उज्यालोलाई 

र पुस्तक खोल्छु उज्यालोमा,

उ मुस्कुराईरहन्छ

एकोहोरो टोलाईरहन्छ

मतिर प्रसन्न मुद्रामा

सधैँ सधैँ,

मेरो गुरु

मेरो कोठाको झ्याल । 

०४७ चैत्र २९

विकासमा हामी किन पछाडि ?

लामो संघर्ष र धेरै उतार-चढावपछि थुप्रै सहिदहरूको बलिदानको प्रतिफलको रूपमा नेपाली जनता संघीय गणतन्त्र नेपालको सार्वभौम नागरिक भएका छन् । यसको अर्थ नेपालमा जन्मिएको आधारमा जोकोहीले अब सत्ता र शक्तिको दाबी गर्न सक्नेछन् । आशा गरौँ, निकट भविष्यमा संविधान आउनेछ, जसमा यो तथ्यलाई अभिलेखीकरण गरिएको हुनेछ । नेपाल र नेपालीका लागि यस पछाडिको चरण भनेको निर्माणको चरण हो । आर्थिक विकासको चरण हो । तर प्रश्न उठ्छ, कस्तो विकास अपनाउने ? प्रस्न पेचिलो छ र व्यवहारमा उत्तिकै कठिन पनि ।

नेपाललाई जैविक विविधता र प्राकृतिक स्रोतको धनी देश मानिन्छ । यहाँ कृषियोग्य भूमि २९ प्रतिशत र वन क्षेत्र २४ प्रतिशत छ । यहाँका नदीनालाबाट कम्तीमा ५३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । विश्वका ८००० मिटरभन्दा अग्ला १४ हिमशिखरहरूमध्ये ८ वटा त नेपालमै छन् जसका कारण पर्वतारोहण र पदयात्राका लागि नेपाल विश्वमा प्रसिद्ध मानिँदै आएको छ । पृथ्वीको जम्मा ०.१ प्रतिशतमात्र क्षेत्रफल ओगटेको यो देशमा ३ प्रतिशत (६००० प्रजाति) फूल फुल्ने बिरुवा, ८ प्रतिशत (८४८ प्रजाति) चराहरू, ४ प्रतिशत (१८१ प्रजाति) स्तनधारी, ११ प्रतिशत (५०० प्रजाति) पुतली पाइन्छन् । उत्पत्तिस्थल नेपाल भएको वनस्पतिमात्र २४६ प्रजातिका छन् । ३१९ प्रजाति त सुनगाभामात्र पाइन्छन् । विज्ञहरूका अनुसार यहाँ उत्खननको सम्भावना रहेका प्रशस्त खनिज भण्डार छन् । तर वास्तविकता के हो भने जुन दिनसम्म हामी स्रोतको भरपुर उपयोग गर्न सक्दैनौं, तबसम्म यी स्रोतमा गर्व गर्नुको अर्थ रहँदैन । उत्पादनशील बनाउन नसकिएको अवस्थासम्म कुनै पनि सम्पत्ति मृत पुंँजी हो । यिनै प्राकृतिक स्रोत पहिचान र परिचालन नै नेपालका सन्दर्भमा विकासको मुख्य कडी हुनेछ । Continue reading

असार

भुँइ कुइरोहरु उठ्न नपाउँदै

भुवादार बादलको सप्को ओढेर

आँखामा पिरो धुँवा बोकी

आली-आलीमा

भारहीन पैतालाहरु टेक्दै-टेक्दै

फटक-फटक

लामा पाइला चाल्दैछिंन असार

हतार-हतार ।।

बाटोमा कसैले अल्मल्याउनु हुन्न उसलाई

एकसुरमा अघि बढिरहेकीछे ऊ

पिठ्युमा स्याखु ओढेर पनि

पानीले भिझेकी छे

शिरमा छत्री जोडेर पनि

पसिनाले निथ्रुक्क रुझेकी छे ।

एकनास लम्कीरहेकीछे ऊ

दृश्यहरु आँखाको डिल नाघेर

हिलोमा डुबुल्की मारिरहेछन्

यता

बिश्वासको गह्रा भ्वाङ्ग परेकोछ

त्यसलाइ टाल्नु छ

उता

आस्थाको डिल भत्केको छ

त्यसलाइ उकास्नु छ

पानी येथेष्ठ पर्ने हो-होइन

मिहेनत जस्तै

मंसिरमा परिश्रम फल्ने हो-होइन

चिन्ताग्रस्त छे ऊ ।।

तर पनि

लिएर उत्साह भरिएका आँट

खोला-खोल्सीहरु सँग मित लाउन

छहरा-पहरासँग गित गाउन

लम्कीरहेकी छे फाँट-फाँट

हतार-हतार

यसपालिको असार ।

विश्वकै दुखी देशको सम्पन्नता यात्रा

PENTAX Imageउत्तरी गोलार्धको सुदूर उत्तरमा रहेको एउटा सानो देश नर्वेले संविधानसभा मार्फत संविधान प्राप्त गरेको यही महिना २०० वर्ष पूरा भएको छ। यो अवसरलाई  नर्वेलीहरुले वर्षैभरि विभिन्न कार्यक्रमसाथ मनाउँदै छन्। डेनमार्कको झन्डै ४१७ वर्षसम्मको उपनिवेशकत्वबाट स्वतन्त्र भएपछि सन् १८१४ को मे १७ तारिखका दिन संविधान जारी गरिएको यो देशको अहिले विश्वमा छुट्टै पहिचान छ- ‘सबैभन्दा उच्च जीवनस्तर भएको नागरिकहरुको देश।’ नर्वेले विगत एक दशकदेखि संयुक्त राष्ट्रसंघीय मानव विकास सूचकांकको पहिलो तीन राष्ट्रमा आफ्नो स्थान सुरक्षित राख्दै आएको छ। सन् २००८ देखि त ऊ लगातार पहिलो स्थानमै छ। सन् २०१३ को प्रतिवेदन अनुसार यो देशको जिडिपी २८०.१७४ बिलियन अमेरिकीडलर र वार्षिक प्रतिव्यक्ति आय ५५,३९८ अमेरिकी डलर छ।

अहिले सबैको चासो छ, आफूलाई विश्वको सबैभन्दा सम्पन्न राष्ट्र बनाउन यहाँका राजनेताहरु कसरी सफल भए? के छ यो देशको विकासको इतिहास? Continue reading

सामन्तवादका प्रतीक हाम्रा पार्टीहरु

अहिले सबै जसो अखबारहरुमा नेपाल सम्बन्धि बहस चलिरहेको छ । यो बहसको टुंगो लाग्ला नलाग्ला, तर यस खालका चिन्तनको अर्थ अबस्य रहन्छ । यस्ता बहसबाट राज्य-संयन्त्रका व्यक्तिहरुले उचित लाभ लिन सक्ने ठाउँहरु पनि हुन्छन । बहसको केन्द्र भागमा छ, ‘नेपालको बिकास र यसको गति’ । नेपालले बिकासको बाटोमा आशातित गति लिन नसक्नुको पछि दोषी को छ ? राजनैतिक पार्टीहरु, त्यसका नेताहरु वा हाम्रा बिकासका मोडेलहरु ? यस प्रसंगमा हाल भैरहेका शक्तिहरु अत्यन्त पुरानो भयो र अब यसले काम गर्न सक्तैन, ‘नया शक्तिको खाँचो’ छ भन्ने मत निकै बलवान देखिएको छ । त्यसैले यहि धारणाको वरीपरि रहेर आफ्ना मतहरु प्रकट गर्ने कोसिस गर्दैछु ।

अहिले के ब्याख्या गर्ने गरिएको छ भने नेपाली समाजको संरचना परिबर्तन भैसकेको छ र पूर्ण रुपमा पुजीबादी चरणमा प्रवेश गरिसकेको छ । यो अबस्था आउनुमा ने. का., वामपन्थीहरुको विभिन्न आन्दोलन र मधेसीहरुको आन्दोलनको योगदान रहेको छ । उत्पादन सम्बन्धका दृष्टिले हेर्दा यो व्याख्यामा आंशिक सत्यता अबस्य होला, तर संस्कारगत दृस्टीले हेर्दा हाम्रो समाज अझै सामन्तवादको धंग-धंगीबाट कति पनि बाहिर आउन सकेको देखिन्न । यसको प्रस्ट छाया हाम्रो नेत्रित्वमा देखिन्छ । हाम्रो नेत्रित्व बर्गमा घर गरेको यहि सामन्ती संस्कारका कारण विभिन्न समयमा नेपाली जनताले गरेका आन्दोलन स्वरुप प्राप्त भएका परिबर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न सकिएन । पहिलो संबिधानसभा असफल रहनुको प्रमुख कारण पनि यहि समस्या नै हो । यद्यपि यस प्रसंगमा अरु पनि मुद्धाहरु उल्लेख्य रुपमा भएको तथ्यलाई नकार्न सकिदैन । फेरी यो दोष उनीहरुको मात्र हैन । बास्तबमा हाम्रो समाजको चेतना र बिकासको प्रतिछाया उनीहरुमा प्रतिबिम्बित भएको मात्र हो ! यहि कारण नै हो, हरेक पार्टीमा नेत्रित्व हस्तान्तरणको प्रक्रिया गतिशील हुन सकेन । चरम गुटबन्दिको अबस्था विद्यमान छ ! गुटबन्दिले के देखाउंछ भने सिमित व्यक्तिहरु शक्ति हत्याउन सफल छन् ! सम्पति उनीहरुसंग धेरै छ वा राज्यको सम्पति माथि उनीहरु हाबी छन् । आफ्ना मान्छेको हितका लागि शक्ति र श्रोत परिचालन गर्ने क्षमता राख्छन । राजनैतिक परिबर्तन भनेको सत्ता परिबर्तन मात्र हैन रहेछ । पूर्ण रुपमा समाज एबम नेताहरुको सोच, संस्कार र संस्कृतिमा परिबर्तन नहुदासम्म परिबर्तनको महसुस गर्न सकिदैन भन्ने कुरा अब घाम जत्तिकै छर्लंग भैसकेको छ । यसरि, समाजमा यथोचित चेतनाको बिकास नभए सम्म हामीले परिबर्तनलाइ चाहेको दिशातिर निर्देशित गर्न सक्दैनौ । Continue reading

किन मुस्कुराउदैन मेरो देश

म एउटा देश हेरिरहेको छु

जहाँ,

हरेक बिहान हृदयले सगरमाथा छुन्छ,

र छाती गौरबले फुल्छ।

हरेक प्रार्थनामा

मनले लुम्बिनी टेक्छ

र शान्तिको कामना गर्छ ।

फराकिलो क्षितिज नाप्ने

स्वयम्भुको आँखामा

हरेक साँझ

रमाइरहेको नेपालीपन भेटिन्छ ।

म एउटा देश खोजिरहेको छु

जहाँ सधैं

गण्डकी प्रेमको गीत गुनगुनाउँछ,

कर्णाली एकताको हात फैलाउछ

र कोशी चेतनाको दुन्दुभी बजाउछ ।

मादलुको तालमा चल्छन मेरा गोडाहरु

खुट्टाहरु देउडाको तालमा उठ्छन र

मारुनिमा कम्मर मर्किन्छन ।

कौडामा मचिन्छन शरीर र

साकेलामा फनक्कै घुम्छौ हामी ।

मलाई पुग्ने रहर छ त्यस्तो देशमा

जहाँ

माछापुछ्रे फेवामा पौडिन्छ आनन्दले,

सुन्दरी रारा

हिमालको छायासग प्रेमालाप गर्छ र

संसारकै मन लोभ्याँउछ ।

यति हुँदाहुँदै

म मनभरी प्रश्न बोकिरहन्छु सधैँभरि 

किन अनुहारमा उज्यालो बोक्दैन मेरो देश,

किन मुस्कुराउदैन मेरो देश !

किन मुस्कुराउँदैन मेरो देश, कबिता सङ्ग्रह २०७०

सुन्दर देश रोजिरहेछु

उ आगो ओकेलिरहेको बेला
म आकाश हेरेर आँखा टोलाइरहेको छु
छ की त्यहाँ कतै मेरो देश
म मेरो देश खोजिरहेछु ।

उसले प्रतिशोधको राँको बालिरहेको बेला
म क्षितिज जोडेर मन छामिरहेछु
छकी कतै धुक धुकी मेरो देशको
म देश छामिरहेछु ।

उसले घृणा पालिरहेको बेला
मैले उबड-खाबड र घायल मन जोडिरहेछु
जुनले किरण बांडिसकेछ शितल
म मन भित्र घडा थापिरहेछु।

मैले आँखा टोलाइरहेको बेला
घामले पाइला टेकिसकेछ त्यहाँ
पोखिएर कतै तिमीले पनि पायोकी
म उसलाई सोधिरहेछु ।

म अहिले क्षितिज हेरेर
आफ्नै आँखामा आकाश नापिरहेछु
छकी त्यहा मेरो देश
म मेरो देश खोजिरहेछु
म शान्त र सुन्दर देश रोजिरहेछु ।

किन मुस्कुराउदैन मेरो देश, कविता सङ्ग्रह २०७०