
बा




जतिबेला म
आमाको गर्भमा थिँए
मेरा आँखा बन्द रहन्थे
तर सपना देख्थेँ म
गजबको स्वर्ग हुन्थ्यो त्यो सपनामा
जहाँ खुट्टाहरु बेलगाम बुर्कुशी मार्थे
मलाइ स्वर्ग हेर्ने रहर थियो !
अवतरित मेरा जिज्ञाशु आँखाले
अगाडी स्वर्ग देखेन
बरु मेरी आमा माथि
एक हुल
प्रश्नरुपी संगिनहरु
क्रुर बज्रिदै थिए !
निरन्तर बज्रिनै रहे !
थेग्नै नसकिने प्रहार !
Continue reading
यता म
उता तिमी र
र हामी बीच
सदियौं देखि उभिएको थियो
अभेध्य पर्खाल।
यताबाट म
तिम्रो छालाको रङ्ग हेर्थें
र द्वेष पाल्थें
उताबाट तिमी
मेरो
नाकको उचाइ अनुमान गर्थ्योउ र
हरदम घृणा फाल्थ्योउ।
म तिम्रो
आँखाको गोलाई मात्र हेर्थें
दृस्टीको गहिराइ नाप्न सक्थिन
तिमी मेरो छातीको रौँ हेर्थ्योउ
मनको विशालता नाप्न सधैँ असमर्थ हुन्थ्योउ।
यसै बीच त्यो अजङ्गको पर्खाल
एकाएक ढल्यो
त्यसका प्रत्येक छपनी
दुबैको मस्तिष्कमै बज्रियो।
रगत पच्छे भयौं हामी
र
एका-एक झस्कियौँ।
‘रगत दुबैको रातै रहेछ’
पीडाले चिच्यायौँ
आर्तानादी स्वर दुबैको उस्तै निस्कियो
भोकमा भेटेको
गुन्द्रुक र दालको स्वाद भिन्न थिएन
प्रियजन हाम्रा साझा थिए
शान्त्वनाको ध्वनी उस्तै सुनियो।
अहिले एउटै छत मुनि
उही छिद्रबाट
उज्यालो चन्द्र सूर्य हेर्दैछौँ।
तिम्रो हातमाथि मेरो हातको स्पर्श छ
मन मन जोडिदैछ।
यहि मौका हो
सङ्कल्प गर्नुछ
ढलेको पर्खाल
फेरि उठ्न दिनु हुन्न
त्यसैको छपनी माथि
हामी चाहिँ उठ्नुपर्छ।
९ जुन २०१५
एउटा दृस्टीकोण
सुहागरातका प्रहरहरू
एउटा मृगतृष्णा ।
रातको धुमिल प्रकाशमा
घुम्टो भित्र ओझेल परेको
मलिन मलिन
तिम्रो अनुहार खोज्न
म दलिन-दलिन तिर
चियाउँदै हिडिरहेछु,
आकाङ्क्षा उमार्दैछु
सुन्दर सपना ओढदैछु
सुदृढ भबिस्यको मोडेल बनाउने
कल्पनामा डुबदैछु ।
कल्पनाको सानो संसार
तिमी भित्र र म भित्र
सिमित रहिरह्यो रातभरि,
न म तिम्रो नजिक जान सकेँ
न तिमि मेरो नजिक आउननै सकयौ ।
बरु पटक पटक
एउटै क्रम दोहोरिरह्यो
जब म ब्युझिरहेको हुन्थेँ
तिमी शायद सपनामा
भविष्य बुनिरहेकी हुन्थ्योउ
जब तिमी ब्युँझिरहेकी हुन्थ्योउ
म निदाइरहेको हुन्थेँ
यसरी सिङ्गै रातले
बिना कुनै सम्झौता घुम्टो उघार्यो ।
अनि सधैँझैँ
भूक-भुकेमै
तिम्रा पाइलाहरु
बागमती र पशुपतितिर डोरिए,
यता मेरा निस्तेज आँखाहरु
एक्काशी बुद्दका तेजिला आँखासँग
जुधे र नतमस्तक भए ।
यसरी
तिमी पूर्व र म पश्चिम
रात त्यसै बित्यो
कुनै सिर्जना रोप्न सकिएन
कुनै सम्झौता लेख्न सकिएन
तिमी र म बीच
कुनै सुत्र बाँधिन सकेन
मेरी प्रेयसी काठमान्डू ।।।
०४६ जेष्ठ १६
सुन्छु,
हिजो-आज,
बारीको कांल्लामा
सयपत्री फुल्दैनन
घर अगाडिको गह्रा बाँझै छन्
त्यहाँ
मस्याङ्ग, बोडी अनि भटमास फ़ल्दैनन ।
मलाई चिन्ता छ
भाइ शहरमै रमाएको छ,
बा-आमाको हात-गोडा बसिसकेछन
उसले सोधनी सम्म गरेको छैन
पोहोर सालको दसैं खर्च
यतैबाट पठाएको थिएँ,
यसपाला पनि खर्च मै पठाउला
अहिलेको साल घर आउन पाइएन
बाले मोबाइलमा कुरा गर्दै भन्नु भयो-
‘बाबु भर् तेरै हो ।’
यता मलाइ चयन पटक्कै छैन
दिन-रातको खटाइ छ
‘बा-आमा’ भोकै नपरुन
भाइको क्याम्पस पढाइ नरोक्कियोस’
बिहान उठ्नासाथ
चियाको कपमा सुसेलोले फुक्दै
उतैको खबर पढिन्छ
समाचारका हेडलाइनहरु
हिजो र आज
खासै भिन्न लाग्दैनन्
सिंहदरबारमा अझै औसतहरुको राज छ
सिल्लीहरु अझै दिल्ली दौडमै ब्यस्त छन्
बिमानस्थलमा नबयुवाहरुको लर्को उस्तै छ
गन्तब्य लक्षित यात्राहरु
नरक-यात्रामा टुङ्गिन छाडेका छैनन्
यी र यस्तै बासी समाचारहरुले
सधै मन कोक्याई रहन्छ ।
तर
मन बुझाउन
छाकै पिच्छे मलाइ दाल-भातनै चाहिन्छ
दृश्य हिमालकै राम्रा लाग्छन
बाणी बुद्धकै प्यारा लाग्छन
चिसो पानी पिउँदा
घर माथिको
ढुंगे धाराकै याद आउँछ ।
हिजो-आज त
चाड-बाड मनाउन
किन्नर-किन्नरिहरु उतैबाट आउँछन्
हामी बसेको घरको आँगनमा
‘बागिना’* पस्किन्छन्
हाम्रो खुसीले आकाशै भेट्छ
फर्कदा उनीहरु
मुटुभरी माया र छातीभरि गहिरो बिस्वास
बोकेर फर्कन्छन ।
त्यसैले,
हिजो-आज
सोध्न मन लाग्छ
कसले भन्छ?
देश भित्र मात्र देश हुन्छ
म उदघोष गर्छु
देश बाहिर पनि देश हुन्छ ।
(* बाजा-गित-नाच)
पुष ३०, २०७०
भालेको डाँकसँगै
जब ब्युँझन्छु म
र
आँखा खोल्छु एका बिहानै
उसले पनि
आँखा खोल्छ म सँगै र
मुस्कुराउँछ मसँगै,
सँग-सँगै
चिसो हावाको अभिबादन
टक्र्याउछ मलाइ,
र देखाउछ क्षितिजतिर –
“उ त्यो ध्रुब तारा हो,
हुस्सुले पहाड
छेकिराखेको अझै
उ..…. भागिरहेछ बादल टाढा-टाढा
सुर्योदयको आभाससँगै”
र एकाएक
पोल्टाभरि उज्यालो ल्याएर
छर्छ मेरो कोठामा,
म अभिनन्दन टक्र्याउछु उज्यालोलाई
र पुस्तक खोल्छु उज्यालोमा,
उ मुस्कुराईरहन्छ
एकोहोरो टोलाईरहन्छ
मतिर प्रसन्न मुद्रामा
सधैँ सधैँ,
मेरो गुरु
मेरो कोठाको झ्याल ।
०४७ चैत्र २९

भुँइ कुइरोहरु उठ्न नपाउँदै
भुवादार बादलको सप्को ओढेर
आँखामा पिरो धुँवा बोकी
आली-आलीमा
भारहीन पैतालाहरु टेक्दै-टेक्दै
फटक-फटक
लामा पाइला चाल्दैछिंन असार
हतार-हतार ।।
बाटोमा कसैले अल्मल्याउनु हुन्न उसलाई
एकसुरमा अघि बढिरहेकीछे ऊ
पिठ्युमा स्याखु ओढेर पनि
पानीले भिझेकी छे
शिरमा छत्री जोडेर पनि
पसिनाले निथ्रुक्क रुझेकी छे ।
एकनास लम्कीरहेकीछे ऊ
दृश्यहरु आँखाको डिल नाघेर
हिलोमा डुबुल्की मारिरहेछन्
यता
बिश्वासको गह्रा भ्वाङ्ग परेकोछ
त्यसलाइ टाल्नु छ
उता
आस्थाको डिल भत्केको छ
त्यसलाइ उकास्नु छ
पानी येथेष्ठ पर्ने हो-होइन
मिहेनत जस्तै
मंसिरमा परिश्रम फल्ने हो-होइन
चिन्ताग्रस्त छे ऊ ।।
तर पनि
लिएर उत्साह भरिएका आँट
खोला-खोल्सीहरु सँग मित लाउन
छहरा-पहरासँग गित गाउन
लम्कीरहेकी छे फाँट-फाँट
हतार-हतार
यसपालिको असार ।
म एउटा देश हेरिरहेको छु
जहाँ,
हरेक बिहान हृदयले सगरमाथा छुन्छ,
र छाती गौरबले फुल्छ।
हरेक प्रार्थनामा
मनले लुम्बिनी टेक्छ
र शान्तिको कामना गर्छ ।
फराकिलो क्षितिज नाप्ने
स्वयम्भुको आँखामा
हरेक साँझ
रमाइरहेको नेपालीपन भेटिन्छ ।
म एउटा देश खोजिरहेको छु
जहाँ सधैं
गण्डकी प्रेमको गीत गुनगुनाउँछ,
कर्णाली एकताको हात फैलाउछ
र कोशी चेतनाको दुन्दुभी बजाउछ ।
मादलुको तालमा चल्छन मेरा गोडाहरु
खुट्टाहरु देउडाको तालमा उठ्छन र
मारुनिमा कम्मर मर्किन्छन ।
कौडामा मचिन्छन शरीर र
साकेलामा फनक्कै घुम्छौ हामी ।
मलाई पुग्ने रहर छ त्यस्तो देशमा
जहाँ
माछापुछ्रे फेवामा पौडिन्छ आनन्दले,
सुन्दरी रारा
हिमालको छायासग प्रेमालाप गर्छ र
संसारकै मन लोभ्याँउछ ।
यति हुँदाहुँदै
म मनभरी प्रश्न बोकिरहन्छु सधैँभरि
किन अनुहारमा उज्यालो बोक्दैन मेरो देश,
किन मुस्कुराउदैन मेरो देश !
किन मुस्कुराउँदैन मेरो देश, कबिता सङ्ग्रह २०७०


उ आगो ओकेलिरहेको बेला
म आकाश हेरेर आँखा टोलाइरहेको छु
छ की त्यहाँ कतै मेरो देश
म मेरो देश खोजिरहेछु ।
उसले प्रतिशोधको राँको बालिरहेको बेला
म क्षितिज जोडेर मन छामिरहेछु
छकी कतै धुक धुकी मेरो देशको
म देश छामिरहेछु ।
उसले घृणा पालिरहेको बेला
मैले उबड-खाबड र घायल मन जोडिरहेछु
जुनले किरण बांडिसकेछ शितल
म मन भित्र घडा थापिरहेछु।
मैले आँखा टोलाइरहेको बेला
घामले पाइला टेकिसकेछ त्यहाँ
पोखिएर कतै तिमीले पनि पायोकी
म उसलाई सोधिरहेछु ।
म अहिले क्षितिज हेरेर
आफ्नै आँखामा आकाश नापिरहेछु
छकी त्यहा मेरो देश
म मेरो देश खोजिरहेछु
म शान्त र सुन्दर देश रोजिरहेछु ।
किन मुस्कुराउदैन मेरो देश, कविता सङ्ग्रह २०७०
आँखाको डील नाघेर
नानी भित्र बाट
चियाएको थिएँ,
तिमि लफ़्रक्कै भिजेकी थियौ
मलाइ सोध्नु थिएन
सोधिन !
तिमी शान्त !
तिमी क्लान्त !
रुझेको आँखालाई
मैले बुझेको थिएँ
ती खुसी मिश्रित
मोति-कणहरु थिए !
छाती तिम्रो,
अधिकारै थियो मेरो,
कति फराकिलो,
गर्बले नाङ्ग्लो जत्रै पाएको थिएँ मैले
हृदय छोएको थिएँ
कति उदार !
मलाइ खोज्नु थिएन
ओठमा मुस्कान
अनुहारनै धप्प बलेझैं थियो !
शरीर श्राबले लपक्क
सुकोमल ती काला केशहरु
फर-फर सुबास छर्दै थिए !
म अनुभूत गर्दै थिएँ,
क्षणमै तिम्रा पाइला
आकाश टेक्तै थिए
संसारै जितेको खुसी थियो
संसारै भुलेको बुर्कुशी थियो
मलाइ जन्माएको क्षण
मलाइ रौँ-चिरा थाहा छ
मेरी आमा !
माघ १६, २०७०
१ झुप्राहरु
हरेक महान दर्शन र
महान बिचारहरु
झुप्राहरुको
छाप्राहरुको
सुन्दरतम तस्बिर बोकेर
गरीबहरुको आस्था बनेर उठ्छ र
उठ्दै उठ्दै
आखिर
महलहरुको
शान शौकात र
आडम्बरमा
हराउँछ ।
२ महापुरुषहरु
कथित् महानतम
महापुरुष र जननेताहरु
झुप्राहरुको प्रदक्षिणा पछि
गरिबहरुको चरणमा पर्दछन
सुन्दर संसार र
सभ्य जीवनको
सम्मोहन दिएर
अञ्जुलिभरि आशीर्वाद थापेर फर्कन्छन
तर जब
उनीहरुको जीवनमा खुड्किला थपिदै जान्छन
क्रमश:
भड्किला प्रदर्शनहरुमा अक्शर उनीहरु
देखिन थाल्छन ।
३ राजनीति
आँधी हो
जसको चपेटामा पर्दा
थुप्रै सुन्दर रुखहरु
डढन सक्छन र
उसैको प्रेरणाले
कैयौं निस्प्राण ठुटाहरू
बल्न सक्छन ।
४ साहित्य
आँखा हो
जसको दृश्यपटलमा
रक्षानमा फालिएको गुलाफ
देबतामा चढ्न सकछ
ढुङ्गा पग्लेर
छताछुल्ल रोइदिन सक्छ
हरेक सुन्दर बस्तु
अत्यन्त कुरुप र
प्रत्यक कुरुप बस्तु
सुन्दर देखिन सक्छ ।
५ मान्छे
मान्छेको आडमा
ढुङ्गा देवता बनेर
देवल भित्रिएको
देख्न पाइएको छ,
देवता पनि
दयाहीन ढुङ्गा रहेको
हेर्न पाइएको छ,
तर मान्छे आफै
निरन्तर प्रयासको बाबजूद पनि
मात्र मान्छे बन्न
सकिरहेको छैन ।
प्रकाशोन्मुख संग्रह ‘मान्छे भित्रको मान्छे’