विनाशकारी तिब्र हावाको झोँकाबाट
बिस्तारै छेकेर, बारेर
जब प्राण भरिदिन्छन;
ती निभ्नै लागेका शीखाहरु
एकाएक
आत्मविश्वाशका साथ
हुर्हुर्ती बल्न थाल्छन र
धपक्क उज्यालोको आलोकले
भेट्ने दायरा
अवर्णित हुन्छ ।
आशीर्वाद बनी
शीरमा थपक्क
ढाडस बनेर
बसीदिँदा,
काँध अनि ढाडमा थपथपाइदिँदा,
कम्जोर अनि हरेश खाएका मनहरु
आँट, आशा र उत्साहको लाममा डटिन
जर्याकजुरुक उठ्छन ।
तिनकै
हरेक मायाँलु सुमसुम्याई र स्पर्शले
निराश, ओइलिँदै गएका
सुशुप्त कोपिलाहरू
जुर्मुराउँदै फक्रिन थाल्छन ।
सुन्दर लाग्छ मलाई
हत्केलाझैँ
बाँचिने जिन्दगी ।
२४ फेब्रुअरी २०२५
बर्गेन, नर्वे